पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित मुवा झरनामा साहसिक खेल ‘क्यान्यनिङ’ पहिलो पटक सफलतापूर्वक परीक्षण गरिएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको परीक्षण सफल भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।
वडा अध्यक्ष अमरबिर राईका अनुसार साहसिक पर्यटनको सम्भावना पहिचान गर्दै परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो। नेपालमै साहसिक खेलका रूपमा विकास गर्न सकिने सम्भावना देखिएपछि स्थानीय तहले आवश्यक तयारी अगाडि बढाउने जनाएको छ।
नेपाली सेनाका पूर्व कर्मचारी तथा सगरमाथा आरोही किसोर जबेगुको परिकल्पनामा गाइड मोहन लिम्बू र सुजन तामाङको टोलीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको हो। जबेगुले यहाँको भौगोलिक बनावटका कारण मुवा झरना क्यान्यनिङका लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्न सक्ने बताए।
परीक्षण सफल भएसँगै आवश्यक पूर्वाधार तथा प्रवर्द्धनका कामलाई तीव्रता दिइने वडा अध्यक्ष राईले जानकारी दिए। मुवा झरना पाँचथरको चर्चित प्राकृतिक गन्तव्यका रूपमा परिचित छ।




