( याे मेराे मृगौला प्रत्यारोपण पछि यसका घटना क्रमबारे पछिल्लो कथा हाे। यसका केही भाग हुनेछन् , सस्मरणका आधारमा लेखिएको दुखद र सुखद क्षणका कथा )
भाग १ प्रारम्भिक
२०७७ साल जेठ ८ वा ९ गते काेभिड काल अनि सारा लकडाउनका बेला अफिसमा काम गरिरहेका थियौं ।एक्कासि शरीर भरि पसिना आयाे, चक्कर चल्न थाल्यो ।त्यसपछि अफिसको चिया पकाउने काेठामा फ्रेस हुनका लागि गइयाे। कागती पानीमा केही नुन घाेलेर पिइयाे, २,४ पिस बिस्कुट खाइयाे र केही बेर आराम गरेपछि फ्रेस नि भइयो । अर्कोदिन पि एच सि गएर ओम साई पाथीभरा हस्पिटलका लागि स्वास्थ्य बिमाबाट रेफर लेटर बनाउन गइयाे। आइतबार ११ गते रेफर लेटर लिइयाे। १२ गते साेमबार रेफर लेटर सहित घरबाटै माेटरसाइकलमा श्रीमती इन्दिरालाई लिएर भद्रपुरमा रहेको त्यही हस्पिटल गइयाे। त्यहीँ खेमराज दाई र खगिन्द्रा भाउजुसँग हस्पिटल गइयाे ।
रगत र अन्य जाँच गराइयो क्रिटानिन ६.४ पुगेछ।मेराे मृगौलामा समस्या आएकाे थाहा भयाे।मलाई त्यहीँ भर्ना गरियो ।र थप परिक्षणका लागि त्यहाँबाट एम्बुलेन्समा सिधै बिराटनगर स्थित नाेवेल हस्पिटलतिर लागियाे। मृगौलाकाे डाक्टर शैलेन्द्र श्रेष्ठ मार्फत सबै प्रकारका टेष्टहरु गराइयो । सकेसम्म छिटाे किड्नी प्रत्यारोपण गर्नुपर्ने सल्लाह पाइयो । केही दिन बसेर घर फर्कियाैं थप उपचारको याेजना बनाउँन। यी दुबै हस्पिटलमा नेपाल सरकारकाे स्वास्थ्य बिमा कार्ड प्रयाेग गरियो ।आर्थिक रुपमा राहत मिल्यो पनि।धन्यवाद नेपाल सरकार स्वास्थ्य बिमाको व्यवस्थाकाे लागि ।
बिराटनगर हस्पिटलमा डिस्चार्ज हुन अबेर भएकाेले बेलुका घर आइपुग्दा राति १० बजिसकेकाे थियो ।भाेलिपल्ट बिहानैदेखि साथीहरू ,इष्टमित्र,छिमेकीहरु लगायत हाम्रो घरमा कहिल्यै आइनपुगेका मानिसहरु मलाई हेर्न आउन थाले।अर्थात् घरमा भिड हुन थाल्यो । कसैले सान्त्वना दिन्थे, कसैले विभिन्न नकारात्मक कुराहरु सुनाउँथे।माहोल बुझ्दा लाग्थ्यो सबैजना मेराे अवस्था नाजुक भएकाे अनुमान गरिरहेका थिए।अझ भनाै अन्तिम अवस्थाकाे नजिक ।राेग त छदैछ अझ आत्मबल गिर्न सक्ने डर पलाउन थाल्यो ।आफूलाई सम्हाल्ने प्रयास गरिरहेँ।सकेसम्म छिटो गाउँ छाेडेर थप उपचारका लागि काठमाडौं जाने योजना बनाउन थालेँ।लकडाउनकाे समय, सबै बजार,गाडी ,प्लेन ठप्प ।जताततै समस्यै समस्या ।
घरमा बसेकाे २ दिनसम्ममा धेरै थरीका मानिस र तिनका आ – आफ्नै तर्क कुतर्क, सकरात्मक नकारात्मक कुराहरु तनाव बढाइ रह्यो ।एकातिर राेग अर्कोतिर तिनका कुरहरु। कसैले इन्दिरालाई तिम्रो हेलचेक्र्याइ भने कतिपयले मलाई हेलचेक्र्याइ गरिस भने। कतिसम्म सहनुपर्याे भने अब तँ जान्छस्, इन्दिरालाई सम्हाल्छाैं भन्ने भावसम्मका कुराहरु ल्याइरहे। आफूलाई राेगि काेही कसैले हेलचेक्र्याइ गर्छ र ? तर आफू कमजोर भएको बेलामै त अरुले नि प्रहार गर्ने । इन्दिरा धेरै पिडा बाेध गर्थिन्, सुनाउँथिन् र पनि धैर्य गरेर काठमाडौं लाग्याैं। खेमराज दाइ, इन्दिरा र म।
लकडाउनले गर्दा बाटाेमा खानेकुरा नपाइने भएकोले घरबाटै लगेकाे राेटी , जाउली, पानी र सप्तरीमा किनेको आँप खाँदै रातकाे १ बजेतिर काभ्रे पुगियो । मुना साेल्टीनी दम्पतीले बनाउनु भएकाे खाना खाएर त्यहीँ सुत्याैं । बिहान ९ बजेतिर महाराजगन्जस्थित टिचिङ हस्पिटल पुगेर इमर्जेन्सीमा दर्ता भइयाे। त्यहाँ स्वास्थ्य बिमाले काम नगर्दाे रहेछ। रगत, पिसाब लगायतकाे परीक्षण गरेर रिपोर्ट हेरेर सामान्य दबाइ दिएर डिस्चार्ज गर्नै पाे आँटे। लकडाउन र काेराेना कहरका कारणले अपरेसन लगायतका सेवा बन्द थिए। फिस्टुला बनाउँदै गर्ने र आवश्यक परेपछि डाइलासिस गराउने सल्लाह पनि दिए। तत्काल डाक्टर अनुप उप्रेतीलाई फाेन गरेपछि एकजना मृगौलाका डाक्टर आउनु भयाे। हामीलाई हस्पिटल भर्ना गरेर थप परीक्षण र उपचार गर्न अनुराेध गरेपछि वहाँले अरु चेकअप गरेर हेराैंदन कतै अन्य कारण पनि हुन सक्छ र दवाइले ठिक हुन सक्छ कि? भनेर झिनाे आशा सहित बेडमा पठाउनु भयाे। केही दिन बेडमा बसेर परीक्षण गराइयाे। स्लाइन, दवाइ सिरिन्ज लगायत कारण हात सुन्निएर थप सिरिन्ज दिने ठाउँ नै बाँकी रहेन।खुट्टाको सबै नसा छेडिसकियाे।अझ कतिपय स्वास्थ्यकर्मीले रगतकाे नमुना निकाल्न सही तरिकाले नजानेर ३/४ पटकसम्म घाेचिरहन्थे, भएन भन्दा गाली गरिहाल्थे। अन्त्यमा जुनसुकै रिपोर्टलेलपनि अन्य कारण देखाउन सकेन अर्थात मलाई CKD (क्राेनि किड्नी डिजिज) नै भएकाे पुष्टि हुँदै थियो । अबको विकल्प भनेकै केही समयपछि डाइलासिस वा मृगौला प्रत्यारोपण गर्नुपर्ने , पिसाब भने आइरहेको थियो । त्यसपछि मृगौलाका बायाेस्पीका लागि सिफारिस गरियाे।
सबै टेष्ट सकेर मृगौलाकाे बायाेस्पी अपरेसन त गरियो तर अपरेसन गरेकाे मृगौलाबाट रगत राेकिएन र पिसाब थैलीमा जम्याे पिसाब थैली फूट्ला जस्तो गरि बढीरह्याे। २०० सम्म पुग्ने ब्लड प्रेसर घटेर ६० भन्दा तल आइसक्याे। म अब सहन नसक्ने अवस्थामा पुगिसकेको थिँए। हस्पिटलमा डाक्टरलाई गुहार माग्दै चिच्याइरहे।तत्काल अपरेसन रुममा लगियो । तत्काल अल्ट्रासाउन्ड , एन्जिओग्राफी गरियो र मलाई बेहोस हुने सुइ लगाइयाे। सबैलाई डर पलायाे, दाजु र श्रीमतीकाे अब हाेस हवास उडिसकेकाे थियो । तत्काल ४/५ पिन्ट रगत खाेज्न लगाइएको रहेछ। लकडाउनले गर्दा सबै रक्तसञ्चार केन्द्रमा रगत अभाव थियोे । धन्न सनराइज बैंकमा काम गर्ने सालाे राजु पाेखरेलले डाेनर साथीहरू भेला गराए, बचिएछ। हस्पिटलमा ठुलै हल्ला भएछ, मृगौला तथा अपरेसनका धेरै डाक्टरहरु भेला भएर जमेको रगत निकालेछन्। बेलुकी ७ बजेतिर हाेस खुल्यो , अगाडि कमल भट्टराई सानाेबुबालाई पाँए।
राति एम आइ सियुमा भर्ना गरियो । काेही चिच्याइरहेका, काेही खाेकीरहेका, कसैलाई ज्वराे आइरहेकाे काेही त्यहीँ बेडमा फाेहाेर गरिरहेका बिरामी थिए। एउटा पातलाे गाउन, सबै झ्यालढाेका बन्द, चिसाे एसि,कहिल्यै ननिबाउने ४/५ वटा उज्यालो बत्ती , निदाउन सकिएन।भाेली पर्सिदेखि ज्वराे आउन थाल्यो , निमाेनिया हुन लागेछ। हात खुट्टा सबैतिर छेडेकाले छुन समेत नहुने गरि सुन्निएका थिए। ज्यादा दुख भयाे। टेष्ट कम गर भन्दा डाक्टरले गाली गर्थे, तँ डाक्टर हाेस् भन्दै थर्काउथे। अब शरीरमा समस्या बढीरहेकाे थियो , कम भएन। दाजु र श्रीमती भेट्न आउँदा तत्काल अरुनै रुम वा क्याबिनमा सिफ्ट गर्न बारम्बार अनुराेध गरिरहे । लाग्थ्यो केहिदिन त्यहा बसे बाच्न सक्दिन। प्राय धेरै बिरामी अन्तिम भएर निकाल्दै थिए। सिफ्ट गर्न नमाने पछि आफुले चिनेकाे डाक्टर अनुपलाई अनुराेध गर्न लगाएर क्याबिन सिफ्ट हुने भइयाे। पिसाब थैली केही जमेकाे रगतका कारण पिसाब निस्कन छाड्याे। मैले समस्या बताएर फुलिस निकाल्न अनुराेध गरें । तर गरिदिएनन्, अलि अघिसम्म अहिले डाइलासिस तत्काल गर्नु पर्दैन भन्ने डाक्टरले डाइलासिस सिफारिस गरे। १ डाइलासिस सकेर क्याविन गइयाे, त्यहाँ पुगेपछि मात्रै अब नमरिने भैयाे भन्ने अनुभुती भयाे। मलाई CKD नै हाे भन्ने भएपछि फिस्टुला बनाउँन गइयाे। त्यहाँ नि धेरै दिन कुर्नुपर्ने कुरा आएपछि अनुपलाई भनेर खाली समयमा फिस्टुला भाेलिपल्टै बनाइयो । ३ डाइलासिस पूरा गरेर डाक्टरलाई अनुराेध गरेपछि बल्ल डिस्चार्ज भएर घर फर्कियाैं।
– डाइलासिस र अन्य उपचार
३ वटै सरकारी र अन्य निजी सबै ट्रान्सप्लान्ट सेन्टर, सुविधा सम्पन्न हस्पिटल लगायतका सबै सुविधाहरु आफूले मात्रै थाेपरेकाे काठमाडौंले माेफसलका नागरिकलाई किन दाेश्राे दर्जाको नागरिक मानेर सुविधा दिन किन नचाहेकाे हाेला? कि काठमाडौंले देशभरिका जनतालाई काठमाडौं बाेलाएर लुट मच्चाउन खाेज्या हाे? काठमाडौं बाहिरका जनता सजग भएर कहिले खबरदारी गर्ने ?
झापा आइपुगेपछि नि: शुल्क काेटा , श सस्तो शुल्कमा पाइने डाइलासिस सेवाकाे खाेजी गरियो तर पाइएन। अन्तिममा B&C हस्पिटलमा एकपटकमा रु ४२००। तिर्नुपर्ने गरि डाइलासिसकाे समय मिलाइयाे। पछि पछि शुल्कमा केही छुट गरि रु३८००। समेत गरियाे। याे काम त्यहाँ पुस लागुन्जेल गरियो ।कम्तिमा डाइलासिस नपाएर मर्नु नपर्ने भयाे।
पुषदेखि भने भद्रपुरकाे मेची हस्पिटलमा नि: शुल्क डाइलासिसकाे काेटा पाइयो , धेरै पापड बेलेपछि।
झापामा भएका कुनैपनि डाइलासिस सेन्टरमा मृगौला राेग बिशेषज्ञ डाक्टर छैनन्। बिरामीलाई डाइलासिस गर्दागर्दै वा अरु बेला गार्हो परेमा अन्य फिजिसियन डाक्टरलाई देखाउँदै भगवानकाे नाम जप्ने बाहेकको विकल्प देखिदैन । एकदिन मेची हस्पिटलमा डाइलासिस गराउँदा गराउँदै स्वाँस्वाँ बढ्यो ।डाइलासिस राेकेर इमर्जेन्सी भर्ना भइयाे। त्यहाँ अवस्था नाजुक बन्दै गयाे। अब आ इ सि युमा राखेर समेत उपचार सम्भव नहुने कुरा स्वास्थ्यकर्मीहरुले बताए , मलाई श्वास फेर्नै गार्हो भइरहेको थियाे।बिर्तामोड हस्पिटल जाने सल्लाह दिइयो । तर म त्यहाँसम्म पुग्न नसकिने अवस्थामा थिएँ। तैपनि पूरा अक्सिजन लगाएर एम्बुलेन्स तुफान दाैडियाे र B&C हस्पिटल १० मिनेट भन्दा कम समयमा पुर्यायाे। क कसले के के रिपोर्ट हेरेर इन्दिरालाई के सुनाए कुन्नि उनी रुँदै कति छाेटाे आयू लिएर आउनु भएकाे रहेछ भन्दै बिलाप गरिरहिन् । तर म बिस्तारै नर्मल हुँदै गएँ फाेक्साेबाट २ लिटर पानी निकालियाे। जे हाेस् यसपटक नि बाच्न सकियो ।
मंसिरमा ललितुरकाे निदान हस्पिटल गइयाे। भक्तपुरको सहिद धर्मभक्त ट्रान्सप्लान्ट शुरु भएर एउटा अपरेसन सफल भएकाे कुरा सुन्यौं र तेतै लाग्यौं । चेकअप पछि डाेनरलाई प्रि ट्रान्प्लान्ट चेकअप गर्न पठाउने गरि फर्कयाै।
बुबा डाेनर म बन्छु भन्नुहुन्छ तर उमेर ७१ बर्ष। मैले डाेनरका रुपमा अनुराेध गर्न सक्ने अब २ जना बाँकी रहनुभयाे आमा र इन्दिरा । दुबै जना स्विकार्नु पनि भयाे। आमा प्रि चेकअप गर्न काठमाडौं जानू भयाे। मंसिरदेखि फागुनसम्म चेकअपकाे ल्याङल्याङमै बिताइदिए १५/ १५ दिनमा चेकअप गराइरहे। अझै डाक्टरले निर्णय दिएनन्। बीचमा एकपटक इन्दिरा नि गइन , अहँ सकरात्मक रिपोर्ट नै आएन। झन तनाव बढ्यो ।आफैलाई धिक्कारी रहेँ।
सामाजिक विकास मन्त्रालय बिराटनगरका साथी मान बहादुर देवकोटा सर र दमककाे साथी राेशनजीकाे सल्लाहमा आमाका केही रिपोर्ट दिल्ली पठाइयो । अपरेसन गर्न सकिन्छ भन्ने खबर आयाे। नेपालमै अपरेसन भए खासै ठुलो खर्च नलाग्ने भएकाले आर्थिक सहयाेग नलिने अडान लिएको मैले भारतमा खर्च ज्यादा लाग्ने र आफूलाई गार्हो पर्न सक्ने भएकाे कुरा नगरपालिका र काेलेनिका हाकिमसाब सुनाएपछि वहाँहरले सस्थागत सहयाेग गर्ने हुनुभयो ।यता BAT 33 का सर गजेन्द्र भट्टराईले आर्थिक सहयाेग गर्नका लागि अनुमति लिनुभयाे। देवेन्द्र चापागाईं सर, र दिनेश शिवाकोटी सरले संयाजन समेत गर्नुभयाे। झापाका विभिन्न पालिका तथा कार्यालका साथीहरू , आर्थिक प्रशासन समूह, BAT32 लेखा समूह, BAT33 का साथीहरुर अन्य साथीहरु र शुभचिन्तकहरुले आर्थिक सहयाेग गर्नुभयो । नगरपालिका त मेरालागि अभिभावक नै बन्याे।संकलित रकम, केही ऋनपान र आफ्नै वचत रकम लिएर चैत १५ मा दिल्ली लागियाे।
नाेएडामा रहेको फाेर्टिज हस्पिटलमा १० दिन भन्दा कम समयमै सबै प्रि चेकअप सकियो । नेपालबा कागजी काम सकिन ढिलाे भयाे तैपनि सबै डकुमेन्ट सकेर कमिटी बस्ने बेला मलाई नि काेराेना लाग्यो । करिब डेढ(एक र आधा) महिना त्यत्तिकै बिताउनु पर्याे। समय र पैसा खर्च गर्दै। त्यसबेला नेपालमा काेराेना धेरै हाेनाहर साथीहरू लाई लादै थियोे । काेराेना ठिक भएकाे कम्तिमा १५ दिनपछि कमिटीले निर्णय गर्याे र जेठ २२ गते अपरेसन गर्ने कुरा डाक्टरले बताउनुभयो ।
२०७८/२/२१ गते हस्पिटल भर्ना भइयो , २२ गते अपरेसन भयाे। बेलुकी ६:०० बजे मेराे हाेस खुल्दा म आइ सि यु क्याविनकाे बेडमा थिएँ। मेराे शरीर भित्र आमाकाे एउटा मृगौला आइसकेको थियाे। अपरेसन राम्रो भएकाे रहेछ।खुशीकाे सीमा नै रहेन। आशा मरिसकेको जीवनमा दाेश्राे जन्म पाइयाे।
अन्त्यमा सबैलाई धेरै धेरै धन्यवाद ।।।