काठमाडौं । अहिलेको जमानामा मानिसहरूका लागि भिडिओ एडिटिङ अनिवार्य सीप जस्तै बनेको छ । सामाजिक सञ्जालहरूको लोकप्रियताले भिडिओको महत्त्वलाई थप बढाइएको छ। यसका लागि आवश्यक पर्ने एउटा सीपमा भिडिओ एडिटिङ पनि पर्छ ।
यसकारण पछिल्लो समयमा यो सीप अनिवार्य बन्नु स्वाभाविक नै छ । यसको ज्वलन्त उदाहरण भिडिओ क्रियटरको संख्या उल्लेख्य मात्रामा बढ्नु पनि हो । सामान्यतया: भिडिओ एडिटिङ प्रोफेसनल एडिटरले शक्तिशाली कम्प्युटरमा गर्छन् भन्ने एउटा भ्रम छ । यो पूर्ण सत्य र पूर्ण भ्रम होइन ।
वास्तवमा आजभोलिका बजेट फोनबाट नै राम्ररी भिडिओ एडिटिङ गर्न सकिन्छ । यसका लागि विभिन्न कम्पनीहरूले आफ्नो मोबाइल बजारमा ल्याएका छन् ।
यदि भिडिओ एडिटिङ गर्ने तपाईंको रुचि छ, तर त्यसका लागि आवश्यक पर्ने कम्प्युटर छैन भने तपाईंले मोबाइल नै यो काम गर्न सक्नुहुन्छ । यसबाट आधारभूत कुरा सिकेर पछि अपग्रेड हुन सक्नुहुन्छ ।
आज हामी तपाईंलाई मोबाइलमै भिडिओ एडिट गर्न सकिने सबैभन्दा महत्त्वपूर्ण एपको बारेमा बताउँदै छौं ।
काइन मास्टर (kinemaster)
काइन मास्टर भिडिओ एडिटिङ एपमध्येको उत्कृष्ट एक हो । यसको लामो समयदेखि हुँदै आएको छ । तपाईंले यसका सबै फिचरलाई राम्रोसँग बुझ्नुभयो भने अर्को कुनै एपको आवश्यकता नै महसुस गर्नुहुने छैन ।
यसका लागि कम्पनीले यसमा कयौं एड्भान्स फिचर पनि दिएको छ । जसमा एडिटिङका लागि ग्रिन स्क्रिन, ब्याकग्राउन्ड रिमुभल आदि जस्तो फिचर रहेका छन् ।
यो एपमा कयौं यस्ता फिचर छन् जुन प्रिमियम भिडिओ एडिटिङ सफ्टवेयरमा आउँछन् । तर एन्ड्रोइड भर्सन ५.० वा त्यसभन्दा माथिल्ला भर्सनमा मात्र यसले काम गर्छ । आजभोली अधिकांशको हातमा हुने मोबाइलले यो मापदण्ड पूरा गरेको हुन्छ ।
यसको सशुल्क र नि:शुल्क दुवै भर्सन रहेका छन् । वाटरमार्क सहित यो एप निःशुल्क प्रयोग गर्न सकिन्छ । तर सशुल्कमा वाटरमार्क हट्नुका साथै अतिरिक्त फिचरमा पहुँच पाउन सकिन्छ ।
एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
इनशट (InShot)
पछिल्ला दिनहरुमा धेरैले यो एपलाई रोजाइ बनाउँदै लगेका छन् । यसबाट भिडिओ एडिटिङ गर्दा क्याप्सन दिनलाई सहज छ । एकसाथ कयौं लेयर बनाएर एडिटिङको काम गर्न सकिने सुविधा छ । साथै फरक फरक सामाजिक सञ्जालका लागि भिडिओ फर्म्याट चयन गर्ने विकल्प पनि यसमा पाउन सकिन्छ ।
प्रयोगकर्तामैत्री एपको रुपमा रहेको इनशट कुनै नयाँ प्रयोगकर्ताले केही मिनेटमै सही रुपमा प्रयोग गर्न सक्छन् । यो एप प्रयोग गर्नका लागि निःशुल्क छ । तर एपबाट भिडिओ एक्पोर्ट (एडिटिङ गरेपछि फाइल बनाउने काम) गर्दा वाटरमार्क आउने गर्दछ । त्यो हटाउन भने सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।
यद्यपि केही सेकेन्डका अन्य भिडिओ हेरेर वाटरमार्क हटाउने विकल्प पनि एपमा दिइएको छ । यदि तपाईंको फोनमा एन्ड्रोइड भर्सन ५ वा त्यसभन्दा पछिल्लो भर्सन छ भने यो एप सहजै प्रयोग गर्न सक्नुहुनेछ ।
एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
भिटा (Vita)
यदि तपाईं युट्यबुर बन्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि उपयोगी हुन सक्छ । यसको सबैभन्दा राम्रो पाटो के छ भने यो सम्पूर्ण रुपमा निःशुल्क छ ।
भिटाको सहयोगमा तपाईं गज्जबको भिडिओ एडिटिङ गर्न सक्नुहुन्छ । यदि तपाईं फोटोबाट सानदार भिडिओ बनाउन चाहनुहुन्छ भने यो एप तपाईंका लागि गतिलो विकल्प हुन सक्छ ।
फोटोका लागि तपाईंले एपलाई केही प्रमिसन दिनुपर्ने हुन्छ । यसमा तपाईंले ब्याकग्राउन्ड म्युजिक समेत राख्न सक्नुहुन्छ ।
यो एपमा एडिटिङका लागि प्रोफेसनल भिडिओ तयार पार्न सकिने टूल तथा फिचरहरु छन् । यसको सेटिङमा गएर तपाईं वाटरमार्क राख्ने वा नराख्ने भन्ने विकल्प पनि चयन गर्न सक्नुहुन्छ ।
भिटा एप चलाउन भने एन्ड्रोइड ६.० वा त्यसभन्दा पछिल्लो भर्सन हुन जरुरी छ । एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
भिडिओशो (VideoShow)
भिडिओशो एपको प्रयोग पनि धेरैले गने गर्छन् । यसको सबैभन्दा राम्रो विशेषता भनेकै यसबाट तपाईं एचडी क्वालिटीको भिडिओ एडिट गर्न सक्नु हो ।
जब तपाईं यो एपको माध्यमबाट कुनै एडिटिङ सुरु गर्नुहुन्छ, त्यसका लागि तपाईंले एउटा थिम छनौट गर्नुपर्ने हुन्छ । त्यसपछि भिडिओमा राख्न चाहेका फोटोहरू छनौट गर्नुपर्ने हुन्छ ।
यसरी केही मिनेटमै एपले भिडिओ तयार पार्दछ । यस बाहेक टेक्स्ट समेत आफ्नो रुचीको स्टाइलमा चयन गर्न सकिन्छ । यसमा तपाईं ब्याकग्राउन्ड म्युजिक राख्न सक्नुहुन्छ । दुई वा सोभन्दा बढी भिडिओ एकसाथ जोड्न पनि सक्नुहुन्छ ।
भिडिओ कतै स्ट्रिम गर्ने अप्सन पनि यो एपले दिन्छ । यो एप प्रयोग गर्न सिक्ने कुरामा पनि धेरै समय लाग्दैन । यो भिडिओ एडिटिङ एपमा जुम इन, जुम आउट जस्ता कयौं आकर्षक फिचर समेत छन् ।
यो एप प्रयोग फोनमा एन्ड्रोइड ५.० वा त्यसभन्दा माथिको भर्सन हुन जरुरी छ । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस्
पावरडिरेक्टर (PowerDirector)
पावरडिरेक्टर एप पनि भिडिओ एडिटिङका लागि धेरै प्रयोगकर्ताले रुचाएको एप हो । यद्यपी प्रोफेसनल काम गर्ने प्रयोगकर्ताले यसको प्रयोग बढी मात्रामा गर्ने गरेका छन् ।
यसमा ग्रिन स्क्रिन, स्ट्रिम, स्प्लाइस, रोटेट, ब्राइटनेस कन्ट्रोल जस्ता एडिटिङका प्रिमियम फिचरहरू देख्न पाइन्छ । एपमा तपाईंले पीआईपी अर्थात पिक्चर इन पिक्चरको सपोर्ट समेत पाउन सक्नुहुन्छ ।
यद्यपी यी फिचर कमजोर प्रोसेसर भएका स्मार्टफोनमा भने काम गर्दैनन् । एपलाई निःशुल्क प्रयोग गर्न सकिन्छ । तर त्यसमा वाटरमार्क रहने गर्दछ । यसलाई हटाउन सब्सक्रिप्सन प्लान लिनुपर्ने हुन्छ ।
यो एपले एन्ड्रोइड भर्सन ५.० वा त्यसपछिका भर्सन भएका फोनमा मात्र काम गर्छ । एन्ड्रोइडका लागि एप डाउनलोड गर्न यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
यी बाहेक पनि अहिले बजारमा थुप्रै राम्रा भिडिओ एप उपलब्ध छन् । अझ पछिल्लो समयमा एआई एकीकृत गरिएका एप पनि छन् । फिल्मोरा, क्यान्भा, क्यापकट, भिभाभिडिओ, फिल्ममेकर प्रो केही उदाहरण हुन् ।
टेकपानाबाट