काठमाण्डाैं । एसियाकपको उद्घाटन खेलमा आज बुधबार दिउँसो ३:१५ बाट नेपाल र पाकिस्तान मुल्तानमा प्रतिस्पर्धा गर्दै छन्। आइसिसीको एकदिवसीय विश्व वरियताको शीर्ष स्थानको पाकिस्तान स्वभाविक रुपमा नेपालविरुद्ध हावी हुने आँकलन गरिएको छ। तर पाकिस्तान आफैमा कमजोरी रहित टिम भने होइन्। त्यसोत नेपालका पनि सबै पक्ष कमजोर छन् भन्ने होइन केही बलिया पक्ष पनि छन्। जसले पाकिस्तानलाई हैरान बनाउन सक्छ।
एसिया कप सुरु हुनु केही दिन अघि मात्र पाकिस्तानले श्रीलंकामा अफगानिस्तानलाई ३ खेलको एकदिवसीय सिरिजमा ३-० ले पराजित गर्दै सिरिज क्लिन स्विप गर्यो। टिमका शीर्ष तीन ब्याटर इमाम उल हक, फखर जमान र बाबर अजामले २०१९ को एकदिवसीय विश्वकप पछि देशका लागि १६ शतक प्रहार गरिसकेका छन्। यी तीन खेलाडी अहिले विश्वका अन्य कुनै पनि देशका तीन खेलाडीको तुलनामा सर्वाधिक सफल रहेका छन्।
त्यसोत पाकिस्तान यो समय पेसर्स सँगै ब्याटर र अलराउन्डर शादब खानको बलमा बलियो मात्र होइन विश्व विजेता बन्ने अभियानमा लागेको छ। साथै तेस्रो पटक एसिया कप उचाल्ने लक्ष्यमा छ।
हेरौँ पाकिस्तानका केही बलिया पक्ष
टप अर्डरले ३१ खेलमा प्रहार गरे १६ शतक: पाकिस्तानका कप्तान बाबर आईसिसी ब्याटिङ बरियतामा शीर्ष नम्बरमा रहेका छन्। ओपनर्स इमाम-उल हक र फखर जमान सहित तीन खेलाडी शीर्ष पाँचमा छन्। यी तीन खेलाडीले २०१९ को विश्वकप यताका ३१ खेलमा १६ शतक प्रहार गरिसकेका छन्।
४ खेलाडी जसले खेल बदल्न सक्छन: पाकिस्तानको लाइनअप यति मजबुत मानिन्छकी कुनैपनि खेलाडीले खेल जिताउने क्षमता राख्छन्। त्यसमा पनि चार खेलाडीले बल र ब्याटबाट आफ्नो क्षमता र रवाफ देखाउन सक्षम छन्। जसमा शादब खान, मोहम्मद रिजवान, नसिम साह र मोहम्मद नवाज रहेका छन्।
१४५ स्पिडमा बल फाल्ने बलर: पाकिस्तानसँग कलेक्टिब पेश बलिङ याट्याक यो समय विश्वकै मञ्जबुत मानिन्छ। शाहीन, नसीम र हरिस यी तीन खेलाडी जसले यस्तो तागत राख्छनकी उनीहरूले १४५ किमी स्पिडभन्दा बढीमा अक्सर बल फाल्ने गर्छन्। यी खेलाडीको अतिरिक्त स्पिड पाकिस्तानका लागि अतिरिक्त फाइदाका रूपमा रहेको छ।
पाक टिमका यी कमजोरी जस्ले विपक्षीलाई राहत दिन्छ
मिडल अर्डर कमजोर: पाकिस्तानको मिडल अर्डर तुलनात्मक रुपमा कमजोर छ। अर्थात शीर्ष तीन ब्याट्सम्यमानलाई चाँडो आउट गर्न सके अर्को टिमको पक्षमा खेल ढल्किने विश्वास राखिन्छ। मिडल अर्डरको कन्सिसटेन्सी पाकिसत्नको टाउको दुखाइ हो। इफ्तिखर, रिजवान र सलमान क्षमतावान खेलाडी त हुन तर ठूला प्रतियोगिताहरुमा उनीहरूले आफूलाई प्रमाणित गर्न पाएका छैनन्।
तुलनात्मक रुपमा कम खेल: अन्य टेस्ट राष्ट्रको तुलनामा पाकिस्तानले २०१९ विश्वकपपछि कम खेल खेलेको छ। पाकिस्तानले केवल ३१ एकिदवसीय अन्तर्राष्ट्रिय खेल मात्र खेलेको छ। यो मामिलामा भारतले ५७ खेल खेल्दा पाकिस्तानले यो वर्ष धेरै खेल खेल्न पाएन। जसले गर्दा आफूलाई थप निखार ल्याउन सकेन। त्यसैले ठूला प्रतियोगितामा यो असर देखिन सक्छ।
खराब फिल्डीङ: पाकिस्तान टिम अन्तर्राष्ट्रिय क्रिकेटमा खराब फिल्डीङ गर्ने टिम मध्येमा मानिन्छ। महत्वपूर्ण समयमा क्याच छोड्ने, रनआउटको मौका गुमाउने पहिचानले पाकिस्तान परिचित छ। त्यसैले यी कमजोरीहरू पाकिस्तानका लागि चुनौति हुन्।
नेपालको बलिङ र ब्याटिङ आँकडा शानदार तर बलिया राष्ट्रसँग अनुभवविहीन
पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली टिमले एकदिवसीय अन्तर्राष्ट्रियमा कुल ५२ खेल खेलेको छ। जसमा २७ खेलमा जित निकालेको छ। तर एसियाकपमा सहभागी सबै पाँच राष्ट्रसँग नेपालले प्रतिस्पर्धा गरेको छैन्। यद्यपि, टेस्ट अनुभवी राष्ट्रसँग विश्वकप छनोटका दौरान खेलेको छ। नेपालले जिम्बाब्वे, वेस्टइन्डिज र आयरल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो।
नेपालको बलियो पक्ष: २ खेलाडीको १ हजार प्लस रन, ३ बलरको ५० प्लस विकेट: नेपालका २ खेलाडीले १ हजार बढी रन बनाएका छन्। जबकी ३ बलरले ५० बढी विकेट लिएका छन्। कप्तान रोहित पौडेल १५०० रनको नजिक छन्। उनले ५२ इनिङमा १४६९ रन बनाएका छन्।
त्यस्तै, आसिफ शेखले ४१ इनिङमा ११८७ रन बनाएका छन्। बलिङ तर्फ सन्दीप लामिछानेले ४९ खेलबाट १ सय ११ विकेट पूरा गरेका छन्। टीमका लागि करण केसी र सोमपाल कामीले पनि विगत चार वर्षमा ५० भन्दा बढी विकेट लिएका छन्।
टिमको कमजोरी: नेपालको कमजोरी भनेको ठूला टिमविरुद्ध अनुभन नहुनु हो। टिमले जतिपनि खेल खेलेको छ अधिकांश खेल एसोसिएटेड देशविरुद्ध मात्र खेलेको छ। नेपालले टेस्ट टोलीविरुद्ध प्रतिस्पर्धाको अवसर पाएको विश्वकप छनोटका दौरान मात्र हो।
नेपालको ब्याटिङमा एकरुपता नहुनु र फिल्डीङमा समेत कमजरी विश्वकप छनोटका दौरान देखिएको थियो। त्यसैले विश्व नम्बर एक पाकिस्तानविरुद्ध स्वभाविक रुपमा नेपाल आँकडामा कमजोर छ यद्यपि आफ्ना केही गल्ती सुधारे प्रतिस्पर्धात्मक टक्कर दिन सक्षम छ।
यस्तो छ पाकिस्तानको नेपालविरुद्ध घोषित प्लेइङ ११
बाबर अजाम (कप्तान), सादब खान (उपकप्तान), फखर जमान, इमाम: उलहक, सलमान अली अघा, इफ्तिखर अहमद, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद नवाज, नसिम साह, सहिन सा अफ्रिदी र हरीस रउफ
नेपालको सम्भावित प्लेइङ ११
कुशल भुर्तेल, अर्जुन साउद, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, भीम सार्की, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने, ललित राजवंशी, गुल्सन झा