ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । लाखेजात्रा खेल सञ्चालक समितिले सोमबार तालिका सार्वजनिक गरेको हो । भदौ १४ गतेदेखि २० गतेसम्म हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक ताप्लेजुङको मानाभारा युथ क्लब र जुट विकास फुटबल एकेडेमी इटहरी प्रतिस्पर्धा हुने भएको छ ।
भदौ १८ र १९ गते सेमिफाइनल र २० गते फाइनल खेल हुनेछ । भानुजन माविको मैदानमा हुने प्रतियोगितामा अधिकांश क्लबले विदेशी र ‘ए’ डिभिजनका खेलाडी ल्याउने खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । ‘अहिले प्रतियोगिता नभएकाले अधिकांश खेलाडी फुर्सदमा रहेको पाइएको छ,’ गुरुङले थपे, ‘झापा, मोरङका क्लबले विदेशी र ‘ए’ डिभिजनका खेलाडी ल्याउने संकेत गर्नु भएको छ ।’
प्रतियोगिताको विजेता टिमले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । २०२९ सालदेखि सुरु भएको प्रतियोगिता दुई वर्ष कोरोना र एक वर्ष खेल मैदानको अभावमा रोकिएको थियो । यो वर्ष पनि आयोजक आफैंले मैदान बनाउनु परेको अध्यक्ष गुरुङ बताउॅछन् ।
दर्शकका लागि यो वर्ष सेमिफाइनलसम्म एक सय, सेमिफाइनलमा दुई सय र फाइनलमा २ सय ५० रुपैयाँ टिकटदर निर्धारण गरिएको छ ।