काठमाडौं । सरकार गठनमा राजनीतिक दलबीच हुँदै आएको भागवण्डा अब संसदीय मामिलामा समेत प्रवेश गरेको छ । सरकारको नेतृत्व गरिरहेको दल र विपक्षी बेञ्चमा रहेको दलबीच भागवण्डा भएको छ । प्रतिनिधिभाको विपक्षी बेञ्चमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संसदीय समितिको सभापति दिएर सत्तारुढ नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा राप्रपाको समर्थन लिने गरी भागबण्डा भएको हो ।
नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहलाई समर्थन जनाएको छ । कोशी प्रदेशमा भएको राजनीतिक संकट समाधानका लागि राप्रपाले सत्तापक्षलाई सघाउने गरी राप्रपा–माओवादीवीच राजनीतिक लेनदेन भएको हो । प्रतिनिनिधिसभामा माओवादीले सघाएपछि अब कोशी प्रदेशमा राप्रपाले नैतिक रुपमा गठबन्धन सरकारलाई सहयोग गर्नैपर्ने माओवादीको भनाइ छ ।
माओवादी सांसद माधव सापकोटाले अब राप्रपाले कोशी प्रदेशमा गठबन्धनलाई सघाउनै पर्ने नैतिक अवस्था आएको बताए । राप्रपाका सांसद सिंहले भने अध्यक्ष राजेन्द्र लिङदेन विदेशमा रहेकाले कुनै समझदारी भइनसकेको बताए ।
राप्रपाका नेताले यस विषयमा कुनै लिखित समझदारी नभएको दाबी गरे पनि माओवादी सांसद सापकोटा भने लिखित सहमति नभए पनि अनौपचारिकरुपमा छलफल भएको र राप्रपाले कोशी प्रदेशमा गठबन्धन सरकारलाई सघाउने दाबी गर्छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दुबई भ्रमणमा गएकाले विक्रम पाण्डे लगायतका नेताहरुले माओवादी केन्द्रसँग छलफल गरेर प्रतिनिधिसभा र प्रदेशसभामा भागवण्डा गरेका हुन् ।
सरकारमा रहेको दल र विपक्षी बेञ्चमा रहेको दलवीच भएको यो भागवण्डा आफैंमा बहसको विषय त हुँदै हो, अझ प्रदेशको सरकार टिकाउनका लागि संघीय संसदमा गरिएको राजनीतिक लेनदेन आफैंमा संघीयताको मर्मअनुकूल देखिँदैन ।
अर्कोतर्फ, कुनै लिखत नगरी गरिएको यो उधारो सम्झौता अनुसार राप्रपाले कोशी प्रदेशमा गठबन्धनलाई सघाउने कुरा पनि अनिश्चित छ ।
यसैवीच, राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पूर्वाधार विकास समितिको सभापति माओवादीको निगाहमा पाएको नभई आफूहरुले लडेर लिएको दाबी गरेका छन् ।
पार्टी अध्यक्ष मुलुक बाहिर भएको र आफूसँग पनि यस विषयमा कुनै परामर्श नभएको भन्दै नेता सिटौलाले पहिलेदेखि नै आफूहरूले एउटा समितिको सभापति माग गर्दै आएको र त्यहीअनुसार एउटामा उम्मेदवारी दिएको दाबी गरे ।
सत्ता गठबन्धन दल नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समेत राप्रपाले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग गर्ने कुनै सहमति नभएको दाबी गरे ।
९३ सदस्यीय प्रदेश सभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका चार र जसपाका एक जना गरी सत्ता गठबन्धनका ४७ जना प्रदेश सभा सदस्य छन् ।
सभामुख खाली रहेको र उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता नगर्दा भदौ ४ गते मुख्यमन्त्री थापाले लिएको विश्वासको मत सर्वोच्च अदालतमा विचाराधीन छ ।