बिराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रियामा जटिलता आउने सम्भावना बढेको छ । सभामुखको समेत जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्ताव सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा छलफलका लागि पेस गर्न समय तोकेकी छन् । तर उनी आफ्नो दल एमालेको निर्देशनअनुसार बैठकमा आफैं अनुपस्थित हुने सम्भावना प्रबल रहेको उनीनिकट नेताले बताएका छन् ।
आफैंले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत हो । तर, सरकार बनाउने र ढाल्ने जोडघटाउमा उनको अनुपस्थिति संख्यात्मक हिसाबले अर्थपूर्ण हुने देखिएको छ । उपसभामुख दनुवार अनुपस्थित भएको अवस्थामा भने मुख्यमन्त्री थापा विश्वासको मत लिने अन्य विकल्प छाडेर अदालतको ढोका ढकढक्याउने तयारीमा छन् ।
मुख्यमन्त्री थापाले प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दललाई विश्वासको मत दिनका लागि पत्राचार गरेर आइतबार आग्रह गरेका छन् । प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक अमरबहादुर विष्टले विश्वासको मत लिने बैठक राप्रपाले बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले विश्वासको मत लिने बैठकमा राप्रपा उपस्थित नहुने सुनाए ।
उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नसक्ने अंक गणितीय जटिलताले सत्ता र प्रतिपक्ष दुवै आ-आफनै सत्ता स्वार्थको राजनीतिक दाउपेचमा लागेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ छन् । प्रमुख प्रतिपक्षी एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी प्रतिपक्षमा ४६ प्रदेश सांसद छन् । प्रदेशसभामा विश्वासको मत लिन ४७ सदस्यको समर्थन आवश्यक छ । सत्तारुढ गठबन्धन दलसँग बहुमत ४७ सदस्य पनि छन् तर त्यो बहुमत उपसभामुख दनुवार वा एमाले र राप्रपाका अध्यक्ष मण्डलका सदस्य र ज्येष्ठ सदस्यले प्रदेशसभा बैठकको अध्यक्षता गरिदिने अवस्थामा मात्रै कायम रहने जटिलता छ ।
मुख्यमन्त्री थापाले जसरी पनि उपसभामुख वा प्रतिपक्षी दलका अध्यक्ष मण्डलका सदस्य वा ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेको प्रदेशसभाबाट विश्वासको मत लिने दाउमा छन् भने प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी राप्रपाले बैठकको अध्यक्षता नगर्ने रणनीतिमा छन् । जसले तटस्थ भूमिका रहेको सभामुख र उपसभामुख पदसँगै समग्र प्रदेशसभाको नै मर्यादा लिलाम भइरहेको प्रदेश सांसदको गुनासो छ ।
यसअघि तत्कालीन सभामुख बाबुराम गौतमले पक्षधरता देखाउँदै असंवैधानिक रुपमा असार २१ गते कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर गरेका थिए । सरकार निर्माणका लागि सभामुखले गरेको हस्ताक्षरलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै मुख्यमन्त्री थापाको पद खारेज गरिदिएको थियो । त्यसपछि तत्कालीन सभामुख गौतमलाई पदबाट राजीनामा गराएर थापा दोस्रो पटक साउन १६ मा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यसअघि सत्तारुढ गठबन्धन दलले सरकार बनाउनका लागि सभामुख पदको बदनाम गराएका थिए । यतिखेर सरकार ढाल्नका लागि प्रतिपक्षी दलले उपसभामुखलाई प्रयोग गर्ने सम्भावना प्रबल छ । यसअघि प्रदेशसभा बैठकको अध्यक्षता गर्ने र अनुपस्थित नहुने बताउँदै आएकी उपसभामुख दनुवार आइतबार यो विषयमा बोल्न चाहेकी छैनन् ।
प्रमुख प्रतिपक्षी एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी भने उपसभामुखलाई बैठकमा अनुपस्थित हुन र राजीनामाका लागि कुनै किसिमको दबाब र प्रभावमा नपर्ने दाबी गर्छन् । उपसभामुख दनुवार प्रदेशसभाको बैठकमा उपस्थित हुने वा नहुने विषयमा आफ्नो स्वविवेक प्रयोग गर्न स्वतन्त्र रहेको उनले बताए । एमालेले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने अवस्था नरहेको भण्डारीले प्रष्ट पारे । गठबन्धन दलमा रहेका साना दलहरुका कारणले सहमति जुट्न नसकेकाले विश्वासको मत दिने विश्वासको वातावरण तयार हुन नसकेको उनले आरोप लगाए ।
तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएको र उपसभामुख अनुपस्थित भएको अवस्थामा यसअघि प्रदेशसभाले गठन गरेको ४ सदस्यीय अध्यक्षमण्डलका सदस्यमध्येबाट वर्णानुक्रम वा ज्येष्ठताका आधारमा एक जनाले प्रदेशसभाको अध्यक्षता गर्ने छन् । अध्यक्ष मण्डलमा कांग्रेसका प्रदेश सांसद इस्राइल मन्सुरी, माओवादी केन्द्रकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर विष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा अध्यक्षमण्डल भंग हुने कानुनी व्यवस्था छ । त्यसपछि प्रदेशसभाका ज्येष्ट सदस्यले प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनीयताको सपथ लिएर प्रदेशसभा बैठकको अध्यक्षता गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका ८० वर्षीय गयानन्द मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेर एमाले र राप्रपाका ज्येष्ठ सदस्यलाई बैठकको अध्यक्षता गर्नैपर्ने बाटो खुल्ला गरेर राखेका छन् ।
अहिले ज्येष्ठ सदस्यमा एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की, राप्रपाका प्रमुख सचेतक ६९ वर्षीय अमरबहादुर विष्ट, एमालेका ६८ वर्षीया मालतीकुमार लिम्बू, ६८ वर्षीय रामप्रसाद मेहता, ६८ वर्षीय खडगबहादुर बस्नेत, ६७ वर्षीया तारादेवी ढकाल, ६६ वर्षीय किशोरचन्द्र दुलाल, राप्रपाका ६६ वर्षीय गोपालबहादुर विश्वकर्मा, एमालेका ६५ वर्षीय ज्ञानेन्द्र सुवेदी र कांग्रेसका ६४ वर्षीय अमृतकुमार अर्याल छन् ।
अध्यक्षमण्डलका सदस्यका साथै ज्येष्ठ सदस्यसमेत रहेका राप्रपाका विष्ट र एमालेकी लिम्बुले सोमबारको प्रदेशसभा बैठकमा अनुपस्थित रहने सूचना प्रदेशसभा सचिवालयमा आइतबार नै दर्ता गराइसकेका छन् । उनीहरुसँगै ज्येष्ठ सदस्यहरु एमालेका कार्की, मेहता, बस्नेत, ढकाल र सुवेदीले पनि अनुपस्थित रहने सूचना दर्ता गराएका हुन् । ज्येष्ठ सदस्यमध्येका दुलाल अमेरिका गएका छन् भने विश्वकर्मा यसअघि नै बिरामी भएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका हुन् । उपसभामुख अनुपस्थित भएको अवस्थामा अध्यक्षमण्डलमा रहेका राप्रपाका विष्ट र एमालेकी लिम्बू पनि अनुपस्थिति हुने निश्चित रहेकाले कांग्रेसका मन्सुरी र माओवादीका तिम्सिनामध्ये एक प्रदेश सांसदले बैठकको अध्यक्षता गर्नुको विकल्प रहँदैन । गठबन्धन दलका प्रदेश सांसदले अध्यक्षता गरेपछि विश्वासको मत दिने प्रदेश सांसदको संख्या ४६ मा झर्ने र विश्वासको मत नपाउने सम्भावना प्रबल देखिएको छ ।
प्रदेशसभा सचिवालयमा अनुपस्थित हुने सूचना दर्ता गराएका सात जनाको निवेदनमा उपसभामुख दनुवारले नै तोक लगाएकाले उनी पनि बैठकमा अनुपस्थित हुने सत्ता पक्षका सांसदहरुको ठहर छ । सत्तापक्षले उपसभामुख अनुपस्थित भएको अवस्थामा अदालतमा निषेधाज्ञा मुद्दा दर्ता गराउने तयारीमा छन् । उपसभामुख दनुवारलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्नका लागि निषेधाज्ञा जारी गरी पाउँ भन्ने रिट दर्ता गराउन मुख्यमन्त्री थापाको सचिवालय सदस्यले विश्वासको मत लिन दर्ता गराएको सूचना र उपसभामुखले छलफलका लागि समय तोकेको पत्रको प्रमाणित प्रतिलिपी प्रदेशसभा सचिवालयबाट लिएका छन् ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मुख्यमन्त्रीको सचिवालयले विश्वासको मत लिने पत्र र उपसभामुखले छलफलका लागि तोकेको समयको प्रतिलिपि लगेको पुष्टि गरे ।
गठबन्धन दल कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले उपसभामुख दनुवार आफैंले अविश्वासको प्रस्ताव छलफलका लागि पेस गर्न दिन र समय तोकेर बैठक बोलाएकाले अनुपस्थित नहुने विश्वास व्यक्त गरेका छन् । ‘उपसभामुखज्युले सभा सञ्चालन गरेको अवस्थामा मुख्यमन्त्रीज्युले विश्वासको मत प्राप्त गर्नुहुन्छ,’ उनले भने, ‘उपसभामुख अनुपस्थित भएको अवस्थामा कानुनी उपचारमा जाने तयारीमा छौं र त्यही अनुसार अघि बढ्छौं ।’
अध्यक्षमण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरी र माओवादीकी गीता तिम्सिना र ज्येष्ठता क्रममा दशौं नम्बरमा रहेका कांग्रेसका अमृत अर्याललाई मुख्यमन्त्री थापाले आफैं अनुपस्थित गराएर मुद्दा प्रक्रियामा जाने तयारी गरेको कांग्रेसका एक प्रदेश सांसदले बताए । मुख्यमन्त्री थापाले सत्ता गठबन्धन दलको प्रदेश सांसदको अध्यक्षतामा बस्ने बैठकबाट विश्वासको मत प्राप्त गर्न बहुमत नपुग्ने भएकाले गठबन्धन दलको सांसदलाई समेत अनुपस्थित गराएर अदालतमा रिट दायर गर्ने तयारी गरेको उनको भनाइ छ ।
अदालतले उपसभामुख वा ज्येष्ठ सदस्यलाई बैठकमा उपस्थित हुने आदेश जारी गरिदिएको अवस्थामा सहजै विश्वासको मत पाउने रणनीतिमा मुख्यमन्त्री थापा रहेको ती सांसदले सुनाए ।