काठमाडौं । हालै हामीले इटालियन ब्रान्ड इनर्जिकाको बिजुली मोटरसाइकल ‘इनर्जिका इभा रिबेल’ कस्तो छ भनेर बुझ्यौं । यो एक विद्युतीय स्पोर्टस् सुपर बाइक हो । नेपाली बजारमा आधिकारिक वितरक इन्ड्युरो मोटर्सले यो बाइक भित्राएको हो । ब्याट्री ठूलो भएको कारण बाइक गह्रौँ छ । तर चलाउँदा भने अप्ठ्यारो हुँदैन । सामान्य बाइक जस्तै सजिलैसँग चलाउन सकिन्छ ।
शक्तिशाली बाइक भए पनि यसमा आवाज आउँदैन । यही कारण पेट्रोलियम इन्धनबाट चल्ने गाडी कुदाउँदा जस्तो अनुभव मिल्दैन । सन् २०२० मा बनेको यस बाइकलाई कम्पनीले ‘न्याकेड बाइक’ क्याटगोरी अन्तर्गत राखेको छ ।
यसमा १४३.४९ हर्जपावर रहेको छ भने २०० किलोमिटर प्रतिघण्टाको अधिकतम गति पाउन सकिन्छ । टर्क २१५ न्युटन मिटर र २१.५ किलोवाटको लिथियम आयोन ब्याट्री दिइएको छ । यसलाई एक पटकको सिंगल चार्जमा सहरी क्षेत्रमा ४२० किलोमिटरसम्म कुदाउन सकिने कम्पनीको भनाइ छ । तर नेपालको परिप्रेक्ष्यमा भने यस बाइकले ३०० किलोमिटरको हाराहारीमा रेञ्ज दिने बनाइन्छ ।
एसी चार्जरबाट बाइकलाई फुल चार्ज गर्न सात घण्टामा लाग्छ । डीसी फास्ट चार्जरबाट भने करिब एक घण्टा भित्रमा फुल चार्ज गर्न सकिन्छ । बाइकमा ईको, स्ट्यान्डर्ड, वेट र स्पोर्ट गरी चार मोड छन् । ती मध्ये ‘वेट’ मोडले पानी परिरहेको बेलामा चालकलाई कुदाउन सहयोगी भूमिका खेल्छ । त्यस्तै यसमा रिभर्स फङ्सनको पनि छ । जुन पार्किङ गर्दा उपयोगी हुन्छ ।
बाइकमा ७ इन्चको चक्का हालिएको हुन्छ । साथै पेट्रोलियम इन्धनबाट चल्ने बाइक जति यसमा मेन्टेनेन्स गर्नु नपर्ने कम्पनी जनाउँछ । बाइकको बस्ने सिट ७९० मिलिमिटर अग्लो छ । जसलाई आफूअनुसार मिलाउन सकिन्छ । बारोसो कोर्सा र स्टेल्थ ग्रे गरी दुई रङमा बाइक पाइन्छन् । तर आफ्नो इच्छा अनुसार त्यसलाई ‘कस्टमाइज’ गर्न सकिने वितरकले बतायो ।
यसको ‘बडी’ प्लास्टिकबाट बनाइएको छ । यद्यपि बाइक सुरक्षित भएको कम्पनीकाे भनाइ छ । यसमा ग्राहकले वारेन्टी पनि पाउँछन् । जस अन्तर्गत बडी पार्टस दुई वर्ष र ब्याट्रीमा तीन वर्षको वारेन्टी दिएको छ ।
यसको मूल्य ५० लाख रुपैयाँ रहेको छ । जुन सामान्य नेपालीका लागि यो बाइकको मूल्य निकै महँगो हो । तर युरोपमा चलिरहेको मूल्य अनुसार नै आफूहरूले नेपालमा बाइक बिक्री गरिरहेको वितरक इन्ड्युरो मोटर्सको भनाइ छ । साथै ‘क्वालिटी’ र ‘फर्फमेन्स’ उत्कृष्ट दिने प्रिमियम ब्रान्डको बाइक भएका कारण यसको मूल्य धेरै भएको हो ।
नेपाली बजारमा इन्ड्युरो मोटर्सले यो सहित इनर्जिका ईगो, ईगो प्लस आरएस, एसईएसई नाइन (EsseEsse9) गरी यस ब्रान्डका अन्य चार मोडल उपलब्ध गराएकाे छ । डुकाटी, बेनेली जस्ता प्रिमियम ब्रान्ड भित्राइरहेको वितरकले नै नेपालमा इनर्जिका ल्याएको हो । यसका यी इलेक्ट्रिक मोटरसाइकलहरूलाई नक्सालस्थित सोरुममा अवलोकन गर्न सकिन्छ ।
टेकपानाबाट