हेटाैँडा ।हेटौंडा ११ का सुदीप खतिवडाले माल्टा जान भन्दै एक व्यक्तिलाई पटक/पटक गरेर झण्डै २ लाख रकम बुझाए। पैसा बुझाएको पनि ३ वर्ष बित्नै लाग्यो। तर माल्टा जाने त परको कुरा पैसा बुझाएको मान्छे समेत फेला पार्न मुस्किल परिरहेको छ।
वैदेशिक रोजगारीमा लाने भन्दै रकम असुली गर्ने हेटौंडा ७ कमानेका कृष्ण क्षेत्री सम्पर्कमै नरहेको खतिवडाको गुनासो छ। पैसा उठ्ला कि नउठ्ला भन्ने चिन्ता एकातिर छ भने वैदेशिक रोजगारीका लागि भैरहेको जागिर छोडेर घर बस्नुको पीडा अर्कोतिर।
सुदीपका अनुसार ती व्यक्ति हाल सम्पर्कमै आउन छोडेका छन्।‘पैसा त लियो। विदेश पठाउन पनि सकेन’, सुदीप भन्छन्, ‘तर हाम्रो पैसा त फिर्ता दिनुपर्यो नि।’ हेटौंडा उपमहानगरपालिका ७ कमानेका कृष्ण क्षेत्रीले माल्टा लगिदिन्छु भन्दै दर्जनौं व्यक्तिहरुसँग लाखौं रकम ठगी गरेर फरार भए पीडितहरुको गुनासो छ।
विदेश पठाउने एजेन्टको रुपमा काम गरिरहेका उनले झण्डै ५ वषअघि माल्टाको भिसा लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाख देखि ३ लाख रुपैयाँसम्म असुल गरेका थिए। उनले पैसा मात्रै लिएका छैनन्, पीडितहरुको पासपोर्ट र शैक्षिक योग्यताको सक्कली कागजात समेत गायब बनाएको पीडितहरुको गुनासो छ। पीडित पक्षले पटक/पटक रकम फिर्ता दिन भन्दै पहल गरेका थिए। तर, जसरी पनि माल्टा लगिदिन्छु भन्दै विभिन्न प्रकारका नक्कली कागजात बनाएर झुलाउँदै आएको पीडित गीता कुँवर बताउँछिन्।
वैदेशिक रोजगारीका लागि माल्टा लगिदिन्छु भन्दै पैसा लिएको ४ वर्षभन्दा लामो समय भैसकेको छ। उनले केही समयअघि नक्कली ‘वर्क पर्मिट’ बनाएर इन्डिया पनि लगेका थिए।
दुईपटक गरी झण्डै २१ दिन इन्डियामा बसेका पीडितहरुलाई विदेश पठाउन नसकेपछि कृष्णले नेपाल नै फर्काएका थिए। त्यसपछि घर आएर २०७९ कार्तिक २७ गते २ महिनाभित्र पैसा फिर्ता दिन्छु भन्ने लिखित सम्झौता गरेका थिए। तर सम्झौता गरेको १० महिना भन्दा लामो समय बित्दा पैसा नदिएर क्षेत्री फरार भएको पीडितहरुको गुनासो छ।
कृष्णले मकवानपुरका विभिन्न ठाउँका २७ जनाको झण्डै ८० लाख भन्दा धेरै रकम ठगी गरेर फरार रहेको पाइएको छ। त्यसमा ११ जनाको भने कागज गरेको पीडित पक्ष बताउँछन्।
छोराले पैसा नतिरे आफूले तिर्ने बताउँदै कृष्णका बुवा राम क्षेत्रीले कागज गरेको उनीहरुको भनाइ छ। तर, अहिले छोरा फरार भएपछि आफूसँग पैसा नभएको भन्दै छोरासँगै उठाउन भनेको पीडितहरु गुनासो गर्छन्।
नक्कली कागजात बनाएर झुलाउँदै लाखौं रकम ठगी गरेर फरार भएका क्षेत्री हाल इन्डिया रहेको र केही सिमित व्यक्तिसँग सम्पर्कमा रहेको पीडित पक्षले बताएका छन्।