ताप्लेजुङ । ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा दुई महिनाभन्दा लामो समयदेखि उडान हुन सकेको छैन । प्रतिकूल मौसमका कारण हवाइ उडान हुन नसकेको हो । गएको जेठ १४ गतेदेखि एउटा पनि उडान हुन नसेको हवाइ उड्ययन प्राधिकरणका सुेकटार स्टेशन सहायक प्रमुख अंगत यादवले जानकारी दिए ।
उनले पछिल्लो समय अन्तिम पटक जेठ १४ गते नेपाल वायुसेवा निगमको जहाज आएको बताए । उडान सेडुलमा राखे पनि पानी र कुहिरोका कारण जहाज झिकाउन नसिकिएको यादवले बताए । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले जानकारी दिए ।
ताप्लेजुङमा जेठदेखि नै वर्षा भइरहेको तथा कुहिरो लागिरहेकाले जहाज आउन नसेको उनले बताए । निगमका अनुसार सुकेटारमा हप्ताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाण्डौ-ताप्लेजुङ उडान तालिका रहेको छ ।
तर, प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ । सुकेटार विमानस्थलमा नेपाल वायुसेवाका साथै सीता एअरले पनि उडान भर्दै आएको थियो ।