काठमाडौँ– भनिन्छ, ‘मेहनतको फल मिठो हुन्छ ।’ अहिले तेह्रथुमको संक्रान्तिका प्रितम बाँस्कोटा यस्तै मिठो फल चाखिरहेका छन् । गर्न अझै धेरै बाँकी नै छ तर अहिले प्राप्त एउटा फलले उनलाई खुशीले फुरुङ्ग बनाएको छ ।
भर्खरै प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा आफुले पाएको अंक जिल्लाकै सर्वाधिक भएको थाहा पाएपछि उनी मेहनतको फल मिठो हुने कुरामा विश्वास गर्न थालेका छन् ।
आर्थिक अवस्था कमजोर भएका प्रितमले घाँस दाउरा र मेलापात गर्दै पढेका हुन् । उनको परिवार सरकारी जग्गामा बस्दै आएको छ । आफुले धेरै नै दुख गरेर गाउँकै बोर्डिङ स्कुलमा छोरोलाई पढाएको र अहिले छोराले त्यसै अनुसारको नतिजा ल्याउँदा एकातिर खुशी र अर्कातिर केही चिन्ता पनि रहेको बुबा मदन बास्कोटाले बताए ।
क्यानडा नेपालसँग टेलिफोनमा उनले भने, ‘छोराको नतिजाले एकदमै खुशी त लागेको छ तर, हामी आर्थिक रुपमा सबल होइनौँ । उसलाई घरकै खाना खाएर नजिकैको उच्च माविमा पढ्न भनेको हो मानेन, साइन्स पढ्ने भन्दै विर्तामोड पुगेको छ । उसले पढ्न त सक्छ, तर पढाउने पो कसरी भन्ने चिन्ता बढेको छ ।’
सानैदेखि मेहनती प्रितम नर्सरीदेखि नै कक्षामा पहिलो हुन्थे । उनलाई पढाउने स्थानीय मिचुङ इङ्ग्लिस बोर्डिङ स्कुलका शिक्षक दिलबहादुर लामा उनी विद्यालयमा एकदमै मेहनती र मिलनसार रहेको बताउँछन् । आफ्नो शिष्यले पाएको सफलताले आफु र सिंगो विद्यालयलाई खुशी बनाएको र अबको उनको यात्रामा पनि केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको उनले बताए । विद्यालयले प्रितम जेहेन्दार र कक्षाको प्रथम विद्यार्थी भएकाले छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । प्रितमले एसईई भने श्रीकृष्ण मावि डाँडागाउँबाट दिएका हुन् ।
प्रितमले ३ दशमलव ७ जीपीए ल्याएको र उनको प्राप्ताङ्कलाई प्रतिशतमा बदल्दा ९२ दशमलव ५ प्रतिशत हुने शिक्षक लामाले बताए ।
‘कक्षामा पढेको विषयलाई घरमा वा गोठालो जाँदा पनि दोहोर्याएर पढ्ने गरेको र यसले आफुलाई धेरै नै सहयोग गरेको प्रितमले बताए । उनी भन्छन्– ‘म गोठालो जाँदा पनि किताब सँगै लिएर जान्थेँ । घरमा हुँदा घाँस दाउरा पनि गरेको छु । मेलापात त स्वभाविक नै हो नि ।’ आफुले भ्याएसम्म र सकेसम्म घरपरिवारलाई काममा सघाउने गरेको उनले बताए ।
‘अब दुःख सुखै गरेर भएपनि विज्ञान विषय लिएर पढ्छु’ प्रितम भन्छन्, ‘गाउँमा पनि दुःख गरिएकै हो । दुःख गर्न डर छैन, विद्यालयमा पनि मैले स्कलरसिपमा पढेको थिएँ अब पनि पाउँछु होला भन्ने आशा छ । त्यसो भयो भने मलाई धेरै नै सहज हुने थियो ।’
आफ्नो क्षमतामा गर्व गर्ने प्रितम आर्थिक सहयोगको अपेक्षामा देखिन्छन् । विज्ञान विषय उनको रुचीको विषय हो । कसै गरी पनि पढ्ने अठोट मनमा कायम छ तर पनि मनको एक कुनामा कसैले सहयोग गरेको भए अझै सजिलो हुने आस पनि छ ।
उनका बुबा पनि त्यस्तै सहयोगको आशामा छन् । ‘आफु्ले त पढ्नै पाइएन, छोरोले यति राम्रो नम्बर ल्याएर पास गरेको छ, तर उसको इच्छा अनुसार घर बाहिर बसेर विज्ञान विषय पढाउन पो नसकिने हो कि भन्ने भएको छ । छोराको रहर मार्न पनि मन लाग्दैन, नमारौँ धान्न सकिने अवस्था छैन’ उनले भने ।
प्रितमको घरमा केही बाख्रा र एउटा दुहुनो गाइ छ । त्यहि गाईको दुध बेचेर घरखर्च टार्ने गरेको उनले बताए । अब कतैबाट सहयोग नपाए बाख्रा र गाई बेचेरै भएपनि छोरोलाई भर्ना गरिदिने योजना रहेको मदनका बुबा प्रितमले बताए । ‘तर गाइ बाख्रा बेचेरै भएपनि अहिले भर्ना गर्ने पैसा जुटाएँ भने पनि त्यसपछिको पैसाको जोहो कसरी गर्ने भन्नेबारे केही थाहा छैन’ उनले भने । घरभन्दा टाढा डेरा लिएर विज्ञान विषय पढ्दा धेरै रकम खर्च हुने उनलाई थाहा छ ।
प्रितम पढाइका साथै साहित्यमा पनि रुची राख्छन् । कविता र गीतका साथै लेखहरु लेख्न आफुलाई मन पर्ने उनले बताए । यसका साथै उनी भजनकीर्तनमा पनि उत्तिकै सक्रियताका साथ सहभागि हुने उनका बुबाले बताए ।