पाँचथर । झापाको दमकमा गत भदौ २४ मा भएको तोडफोड, आगजनी र प्रहरीको हातहतियार लुटपाट प्रकरणमा संलग्न अभियुक्त मानिएका पाँचथरका एक युवक पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा प्रहरीले पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक (लिम्बू) लाई मंसिर २ गते दमक नगरपालिका–६ बाट पक्राउ गरेको हो। उनी घटना पछि फरार रहेका थिए।
प्रहरीका अनुसार फियाकले प्रारम्भिक बयानमा लुटपाट गरिएका हतियार पाँचथरकै मिक्लाजुङ–३, आरुबोटे–लामागाउँ नजिकको एक ओडारमा लुकाइ–छिपाइ राखेको स्वीकार गरेका छन्। त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी टोलीले सो स्थानमा खोजतलास गर्दा हतियार बरामद भएको हो।
बरामद सामग्रीमा सिरियल नम्बर ६२०३८ भएको म्याग्जिनसहितको मार्क–३ राइफल १ थान, सिरियल नम्बर ०३११०२७३९ भएको म्याग्जिनरहित तथा बट र ह्यान्ड–ग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल १ थान, साथै एसएलआरका ३ थान गोली समावेश छन्।
इलाका प्रहरी कार्यालय दमकले फियाकलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा थुनामा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तीव्र पारेको छ।




