ताप्लेजुङ । विश्वमै लोकप्रिय खेल फुटबल अब ताप्लेजुङमा ‘कालो सुन’ अर्थात् अलैँचीसँग जोडिएको छ । मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फङफङदेन झरना पर्यटन विकास समितिले यस वर्ष विशेष निर्णय गर्दै फुटबल प्रतियोगिताका विजेता र उपविजेतालाई नगद होइन, अलैँचीमै पुरस्कार दिने घोषणा गरेको छ ।
समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो हुने टिमलाई ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो हुने टिमलाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची पुरस्कारस्वरूप दिइनेछ । उनले भने, “गाउँघरमा अलैँचीलाई कालो सुन भनिन्छ । यही मूल्यवान् वस्तुको प्रचार–प्रसार गर्न फुटबलसँग जोड्ने निर्णय गरेका हौँ ।”
अलैँची खरिदको समयसँग मेल खाँदै कात्तिक–मंसिर महिनामा व्यापारी गाउँ–गाउँ पुग्ने भएकाले टिमले सो बराबर मूल्यमा बिक्री गर्न सक्ने व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ । नजिकैको फङफङदेन (फुङफङे) झरना नेपालको चर्चित पर्यटकीय गन्तव्य हो, यही झरनाको काखमा रहेको मैदानमा मंसिर ७ गतेदेखि ११ गतेसम्म फुटबल प्रतियोगिता हुने तय भएको छ ।
समितिका कोषाध्यक्ष सुकबहादुर साँवाका अनुसार अतिथिलाई पनि अलैँचीका उत्पादन नै मायाको चिनोस्वरूप दिने तयारी भइरहेको छ । उनले भने, “हामी अलैँचीको चिया पनि उपहार दिन्छौँ, किनभने यो स्वास्थ्यवद्र्धक र स्थानीय उत्पादन हो ।”
उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले फुटबलसँग अलैँची र फङफङदेन झरनालाई जोड्ने अवधारणाको प्रशंसा गर्दै भने, “राजनीतिज्ञ हुनुभन्दा पहिले म किसान पनि थिएँ र फुटबल खेलाडी पनि । किसानको भविष्यसँग जोडिएको पेसा र उत्पादनलाई खेलमार्फत प्रचार गर्न खोजिएको यो प्रयास प्रेरणादायी छ ।”
कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा हाल करिब ४ हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुन्छ र वार्षिक झण्डै २ हजार ४ सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ । आयोजकले फुटबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्न करिब १९ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित




