पाँचथर । केही वर्षअघि नौ जनाको सामूहिक हत्या प्रकरणले चर्चामा आएको पाँचथरको मिक्लाजुङ ३ आरुबोटे क्षेत्र फेरि एकपटक चर्चामा आएको छ। यसपटक भने झापाको दमकस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार यहीँको जंगलको ओढारमा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार झापा र पाँचथरबाट खटिएको संयुक्त प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जंगलको ओढारमा लुकाएर राखिएका हातहतियार बुधबार साँझ बरामद गरेको हो। बरामद भएका सामग्रीमध्ये एक थान जलेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
फेला परेका सामग्रीमा म्याग्जिनसहितको ३०३ मार्क–३ राइफल १ थान, इन्सास राइफलको जलेको बट र ह्यान्ड–ग्रिप, इन्सासको एक थान जङ्गी राउन्ड, र एसएलआरका तीन थान गोली रहेका छन्। ती सामाग्री ढुंगाको ढिस्को पछाडि ओढारभित्र कपडाले बेरिएको अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार हतियार दमकमा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते गरिएको आगजनी र हातहतियार लुटपाटपछि हराएका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचथर मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाकको बयानका आधारमा प्रहरीले उक्त स्थानमा खोजतलास सञ्चालन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णका अनुसार फियाकको बयानपछि हराएका हतियार पाँचथरकै आरुबोटे जंगलमा लुकाइराखिएको अवस्थामा भेटिएको पुष्टि भएको हो। फियाकलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यो क्षेत्र केही वर्षअघि भएको ९ जनाको सामूहिक हत्या प्रकरणका कारण देशभर चर्चामा आएको थियो। त्यतिबेलादेखि संवेदनशील मानिँदै आएको आरुबोटे फेरि एकपटक सुरक्षा घटनाका कारण चर्चा केन्द्रमा पुगेको छ।
प्रहरीले दमक तोडफोड–हतियार लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी निरन्तर चलिरहेको जनाएको छ।




