पाँचथर। मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि सुरु भएको छ । पाँचथरमा गत वर्ष बेमौशममा आएको बाढी र पहिरोको कारण २१ जनाले ज्यान गुमाए भने, फर्खाररै मात्र फालेलुंग गाउपालिकामा ३ जनाको ज्यान गएको छ । बर्सेनि पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ भने ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।
त्यसैले पहिरोको जोखिम कम गर्न र यसबाट बच्न सरकारले आग्रह गर्दै आएकोमात्र होइन बिपत व्यवस्थापनका लागु पनि अभ्यास र तालिम गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने र सचेत भए यसबाट बच्न सकिने जनाएको छ । पहिरो जानु अघि यसका पूर्व संकेतहरू हुने र यसबारे जानीराखे क्षति कम गर्न सकिने प्राधिकरणको भनाइ छ ।
पहिरो जाने संकेत के के हुन् सक्छ त ?
- प्रायः सुख्खा रहेको भिरालो जमिन पानी नपर्दै रसाउँछ र भुक्क फुल्छ ।
- जमीनमा चिरा परेको देखिनु, धाँजा फाट्नु र यो क्रम बढ्दै जानु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बाङ्गो देखिन्छ ।
- जरुवा पानीको मुल सुक्नु तथा अस्वाभाविक रुपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु हुनु पहिरोका पूर्व संकेत हुन् ।”
- घरका भित्तामा चिरा देखिनु र यो बढ्दै जानु पनि पहिरोको संकेत हो । घरका झ्याल–ढोका बांगिनु र खोल्न गाह्रो हुनु पनि पहिरोको संकेत भएको प्राधिकरणले जनाएको छ ।
- भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु र ढुङ्गा माटो खसेको जस्तो आवाजु आउनु पहिरोको पूर्व संकेत । जमिनमुनीबाट चट्याङ फुटेको जस्तो कट्कट् आवाज आउनु र जमिन थर्केको जस्तो आवाज आउनु पहिरो जाने संकेत हो ।
उपाय के त ?
माथिका जस्ता संकेत कुनै पनि देखिए -:
- नआत्तिने तर तत्काल सुरक्षित स्थानतर्फ सर्नु पर्छ ।
- उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई खबर गर्नु पर्ने प्राधिकरणले जनाएको छ ।
- पानी बग्ने खोल्सीतिर भाग्नु हुँदैन ।
- माथितिर पानी परेको छ भने दायाँ वा बायाँतिर भाग्नु पर्ने जनाएको प्राधिकरणले स्थानीय निकायलाई खबर गरेर सहयोग गर्न आग्रह गरेको छ ।