काठमाडौं । नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने जानकारीसहितको पत्र अमेरिकालाई पठाएको छ । अमेरिकी इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत सो प्रोग्राम रहेको भन्दै नेपालमा व्यापक विरोध भएको थियो ।
व्यापक विरोधपछि मन्त्रिपरिषद्को बैठकले नै एसपीपीमा सहभागी नहुने निर्णय गर्दै अमेरिकालाई जानकारी दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अमेरिकालाई पत्र पठाइएको गृहमन्त्री बालकृष्णले जानकारी दिएका छन् ।
सोमबार राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिने क्रममा उनले अमेरिकालाई पत्र पठाइएको बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमण गर्न लागेको चर्चासँगै एसपीपीको विवाद सतहमा आएको थियो । त्यसपछि तत्कालीन प्रधानसेनापति रमिन्द्र क्षेत्रीले अमेरिकालाई पत्र लेखेर एसपीपीमा सहभागी हुन चाहेको सार्वजनिक भएको थियो ।