काठमाडौं । गृह मन्त्रालयले गएराति नेपाल प्रहरीका १७ जना एसएसपीलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जसमध्ये चारजना महिला एसएसपी पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
एक नम्बरमा वसन्त कुवँर सिफारिस भएका छन् । दुई नम्बरमा टेकप्रसाद राई सिफारिस भएका छन् ।
अन्यमा क्रमशः अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।
१७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा थिए ।
योपटक डीआईजीको प्रतिस्पर्धामा चार महिला एसएसपी पनि थिए । जसलाई इतिहास रच्ने अवसर थियो । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआईजी बढुवा सिफारिसमा परेका छन् ।
उनीहरू चारैजनाको अब आईजीपी बन्ने सम्भावना कायम छ ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी सिफारिस भएसङै प्रहरीमा नयाँ इतिहास बनेको छ । प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।
पूजा सिंह अहिले एआईजी छन् । अहिले डीआईजी बनेकाहरु हालका आईजीपी धीरजप्रताप सिंहपछि आईजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।