काठमाडौं ।संघीय सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा प्रदेश नम्बर १ मा उल्लेख्य ठूला कार्यक्रम परेनन् । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा चतरा–सगरमाथा द्रुतमार्ग निर्माण गर्ने नयाँ र चासोको कार्यक्रम हो । यस्तै उदयपुरमा विमानस्थल निमार्ण गर्ने,भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
उद्योगी व्यवसायीले लामो समयदेखि माग गरिरहेको आर्थिक क्षेत्र निर्माणको काम पनि सुनसरीमा गर्ने बजेट वक्तव्यमा घोषणा गरिएको छ । यस्तै उत्तरदक्षिण कोशी करिडोर,रानी विराटनगर धरान सडक विस्तार तथा स्तरोन्नति,तमोर र मेची करिडोर निर्माण गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
सरकारले विराटनगर–धरानको रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने,विराटनगरमा रेल स्टेसनका लागि जग्गाको व्यवस्थाका लागि बजेट विनियोजन गरेको छ । यस्तै विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने,कोशीको चतरामा जल यातायातको काम गर्ने,अरुण करिडोरको ४ सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया आरम्भ गर्ने,कोशी,कन्काई,रतुवा,सुनसरी,त्रियुगा जस्ता जोखिमयुक्त नदी नियन्त्रण,बाँध निर्माणको कार्यक्रम संचालन गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै सुनसरीको धरानमा डाटा सेन्टर स्थापना गर्ने,ओलाङचुङगोला र किमाथाङ्कामा हिमाली सहर निर्माण गर्न अध्ययन गरिने,इलामको सन्दकपुर र पृथ्वीनगरमा व्यवस्थित सिमा क्षेत्र सहर निर्माणको लागि अध्ययन गरिने,सहरी नदी करिडोर कार्यक्रम अन्तर्गत विराटनगरको केशलिया र सिंघीय नदीमा तटबन्ध निर्माण र व्यवस्थित वस्ती निर्माण गर्ने र मोरङको कारागार भवन निर्माण गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
– झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन
– सुनसरीमा विशेष आर्थिक क्षेत्रको निर्माण कार्य प्रारम्भ गरिनेछ ।
– भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिनेछ ।
– चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरी २ घण्टामा सगरमाथा आधार क्षेत्र पुग्ने सडक निर्माण गर्ने ।
– उदयपुरमा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्ने ।
– मिर्चैया लुक्ला सगरमाथा द्रुतमार्ग निर्माणका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने ।
– उत्तर–दक्षिण सडक अनुसार कोशी करिडोर निर्माणको लागि बजेट विनियोजन
– रानी विराटनगर धरान सडकको विस्तार तथा स्तरोन्नतीको काम आगामी आर्थिक वर्ष सम्पन्न गर्ने ।
– झापाको सदरमुकाम जोड्ने सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन ।
– तमोर करिडोर र मेची करिडोर निर्माणका लागि बजेट विनियोजन
– विराटनगर–धरानको रेल यातायातको सम्भाव्यता अध्ययन गरिनेछ ।
– विराटनगरमा रेल यातायातको जग्गाको व्यवस्थाका लागि
– विर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गरिनेछ ।
– कोशीको चतरामा जल यातायातको काम गर्ने
– अरुण करिडोरको ४ सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया आरम्भ गरिने ।
– कोशी,कन्काई,रतुवा,सुनसरी,त्रियुगा जस्ता जोखिमयुक्त नदी नियन्त्रण,बाँध निर्माणको कार्यक्रम संचालन गरिने ।
– पूर्वपश्चिम सिंचाई आयोजना जोड्ने गरी सम्भाव्यता अध्ययन गरिने ।
– धरानमा डाटा सेन्टर स्थापनाको लागि अध्ययन गरिने ।
– प्रदेशको एउटा घना वस्ती भएको शहरमा उद्धार केन्द्रसहितको भवन निर्माण गर्न बजेट विनियोजन ।
– ओलाङचुङगोला र किमाथाङ्कामा हिमाली सहर निर्माण गर्न अध्ययन गरिने ।
– इलामको सन्दकपुर र पृथ्वीनगरमा व्यवस्थित सिमा क्षेत्र सहर निर्माणको लागि अध्ययन गरिने ।
– सहरी नदी करिडोर कार्यक्रम अन्तर्गत विराटनगरको केशलिया र सिंघीय नदीमा तटबन्ध निर्माण र व्यवस्थित वस्ती निर्माण गरिने ।
– संखुवासभा र सोलुखुम्बुको दुईवटा हिमतालको पानीको सतह घटाउने ।
– मोरङको कारागार भवन निर्माण गरिने ।