काठमाडौँ । सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर निकै भाइरल छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० का नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेका अमृत खनालको फोटो भाइरल भएको हो । खनालले आफ्नो फूपुको खुट्टा ढोगेर दक्षिणा दिदैँ गरेको फोटोले यतिबेला सामाजिक सञ्जालमा विभिन्न सवालहरु उठेका छन् ।
अहिले स्थानीय तह निर्वाचनको माहोल तातिरहेको र खुट्टामा पैसा राखे उम्मेद्वारले नै ढोगेपछि यसबारे टिका टिप्पणी उठेका हुन् । कतिपयले भोट माग्ने तरिका भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
तर, त्यो फोटोको वास्तविकता भने यस्तो छ ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् । वडा अध्यक्ष उम्मेदवार बनेका खनाल पनि घरदैलो अभियानमा नै थिए । घरदैलो कार्यक्रमको क्रममा सोमबार बिहान खनाल छिमेकी वडामा पर्ने फूपुको घरमा पनि पुगे । फूपुले भाई चुनावमा उठेकाले बधाईको साथै शुभकामना दिदैँ टिका लगाईदिइन्। फूपुले टिका लगाएपछि हिन्दु संस्कारअनुसार फूपुको खुट्टा ढोगे । अनि दक्षिणा दिए ।
घटनाक्रम यत्ति हो ।
‘हिन्दु संस्कारअनुसार खाली हात ढोग्ने चलन छैन, मैले यसअघि पनि दिदीहरुलाई ढोग्दा दक्षिणा दिने गरेको थिएँ,’ उम्मेदवार खनालले भने, ‘विपक्षीले यसलाई प्रपोगाण्डा बनाए ।’
अर्काे त खनालले जसको खुट्टामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको छ। उनीसँग खनाललाई भोट हाल्न पाउने अधिकार छैन । उनको घर अर्कै वडामा पर्छ।
खनालकी दिदीको मेलम्ची नगरपालिकाको ९ नं. वडामा घर पर्छ । खनाल वडा नं. १० का उम्मेदवार हुन् । ‘यसलाई विपक्षी गठबन्धनले चुनावको समयमा भ्रम छरेको मात्रै हो ।’ उनले भने, ‘मैले आफ्नो संस्कारअनुसार गरेको हुँ ।’
उनले दिदीलाई ढोगेको फोटो आफ्नै फेसबुकमा पनि राखेका छन् । ‘पैसा बाँड्ने उम्मेदवारले यसरी खुलमखुल्ला, अझ फोटो खिचेर पैसा बाँड्छन् होला र ?
उनका दिदी चेतकुमारी कार्कीले मतदान गर्ने वडा नं. ९ मा हो । उनी गोल्मास्थान उपस्वास्थ्य चौकी मतदानस्थलमा मतदान गर्नेछिन् । यसबारे उम्मेदवार खनालकी फुपु कार्कीले भनेकी छन्, ‘मेरो भदो हो, घुम्दै आउँदा म कहाँ आइपुग्यो, मैले आशिर्वाद दिएको हो ।’
उनले भनिन्, ‘उसले मसँग भोट मागेको हैन, मैले दिन पनि मिल्दैन, मेरो अर्कै वडा हो ।’इकागजबाट