पाँचथर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट भए सँगै पाँचथर जिल्लाको एक बिद्यालयपनि छनौटमा परेको छ ।
सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफैंले कमाएर अध्ययन गर्न पाउने गरी कार्यविधि तयार पारेको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४० विद्यालय छनोट भए सँगै पाँचथर जिल्लाको याङवरक गाँउपालिका थर्पु माध्यमिक बिद्यालय छनोटमा परेको छ ।
स्वआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ तयार पारेको हो ।
सो कार्यक्रमका लागि देशभरबाट जम्मा १४० विद्यालय छनोट गरिएको छ । छनोटका परेका विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यबिधिले व्यवस्था गरेका कृषि, पशु, वायरिङ, जडिबुट्टी खेती लगायतका कार्यक्रम सञ्चालन गर्न पाउने केन्द्रद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।