इटहरी । इटहरी २ मा साेमबार राति बम विस्फोट गर्ने हिमाली सुरक्षा परिषद्ले यस घटनाकाे जिम्मा पनि लिइसकेकाे छ । प्रहरीका अनुसार विस्फोटमै पर्नेमध्ये एकले उक्त बम ल्याएका थिए । इटहरीमा डेरा गरी बस्ने २२ वर्षीय रविन थापा र २३ वर्षीय शेरजंग गुरुङ यसमा घाइते भएका छन् ।
विस्फोटबारे प्रहरीले अनुसन्धान गरीरहेको छ । १५ फागुनमा सशस्त्र विद्राेह घाेषणा गरेकाे हिमाल सुरक्षा परिषद्ले हिंसात्मक गतिविधिहरूलाई पूर्वमा केन्द्रित गरेकाे छ । नेतृत्वकाे नाम अझै उल्लेख गरिएकाे छैन । अनि यसले राख्ने मागहरू संविधान सम्मत छैनन् ।
परिषद्काे पहिलाे माग नै संघीयता खारेजीसँग सम्बन्धित छ । उसले ०४७ काे संविधान ब्युँताउँदै त्यसै अन्तर्गतका पाँच विकास क्षेत्र कायम गर्न माग गरेकाे छ । धर्मनिरपेक्ष गणतन्त्र घाेषित नेपाललाई फेरि हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग उसले राखेकाे छ ।
परिषद्ले भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भनेकाे छ । साथै, यसले भर्खरै संसदबाट अनुमाेदित एमसीसी सम्झौतासमेत खारेज गर्न माग गरेकाे छ । परिषद्ले विभिन्न समयमा दिइएका अंगिकृत र वंशज नागरिकता प्रमाणपत्रहरूमाथि समेत छानबिन र कारबाही चलाउनुपर्ने माग राखेकाे छ । यी माग पूरा गराउन उसले नाजायज हिंसाकाे सहारा लिएकाे छ ।शिलापत्रबाट