पाँचथर । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय सदस्यमा पाँचथरका तीन जना युवा चयन भएका छन् । संगठनको केन्द्रीय समितिको हालै सम्पन्न बैठक तथा निर्णयअनुसार भुपेन योक्पाङदेन (हिलिहाङ गाउँपालिका–७), निराजन श्रेष्ठ (फिदिम नगरपालिका–२) र निश्चल सेर्मा (कुम्मायक गाउँपालिका–२) केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
पाँचथरबाट प्रतिनिधित्व गर्ने तीनै जना युवाहरू संगठन तथा पार्टीका विभिन्न गतिविधिमा लामो समयदेखि सक्रिय रूपमा संलग्न रहँदै आएको बताइएको छ । उनीहरूले जिल्लामा युवाहरूलाई संगठित गर्ने, पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । सोही योगदान र संगठनप्रतिको प्रतिबद्धताको आधारमा केन्द्रीय तहको जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।
राप्रपा कोसी प्रदेश कमिटी सदस्य दिपेन योक्पाङदेनले जानकारी दिँदै पाँचथरबाट युवाहरूको केन्द्रीय तहमा प्रतिनिधित्व हुनु संगठनका लागि सकारात्मक सन्देश भएको बताए । उनका अनुसार चयन भएका केन्द्रीय सदस्यहरूले युवाक संगठनलाई थप सुदृढ, क्रियाशील र व्यवस्थित बनाउने दिशामा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उनले जिल्लाबाट केन्द्रीय तहमा नेतृत्वको उपस्थिति बढ्नुले पाँचथरको राजनीतिक गतिविधि र संगठनात्मक पहुँचलाई समेत बलियो बनाउने विश्वास व्यक्त गरे ।





