पाँचथर । सातौँ फिदिम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि फिदिम माध्यमिक विद्यालयले जितेको छ। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सोमबार समापनसँगै फिदिम माविले सर्वाधिक ३३ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै समग्र विजेता बनेको हो।
उपाधिसँगै फिदिम माविले ३० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै फिदिम माविका विद्यार्थी खेलाडीहरूले प्रतियोगिताभर प्रभावशाली खेल प्रस्तुत गरेका थिए।
प्रतियोगितामा रानीटार माध्यमिक विद्यालय १० स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्दै दोस्रो स्थानमा रह्यो। रानीटार माविले २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
त्यसैगरी ९ स्वर्ण, १२ रजत र ६ कास्य पदकसहित सिद्धदेवी माध्यमिक विद्यालय तेस्रो स्थानमा सीमित रह्यो। सिद्धदेवी माविले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा फिदिम नगरपालिकाभित्रका २४ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, दौडलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको थियो।
फिदिम नगरपालिकाको आयोजनामा तथा फिदिम माध्यमिक विद्यालयको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताले विद्यालयस्तरमा खेलकुद प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।




