प्रतीकात्मक फोटो एआइबाट बनाइएकाे हाे । सम्पादक
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–५ घारगाँउमा एक महिलाले अर्की महिलामाथि कुटपिट गरी सुनका गहना लुट्ने घटना भएको छ। शुक्रबार दिउँसो चन्द्रलाल अधिकारीको अम्लिसो बगानमा भएको सो घटनामा ५२ वर्षीया धनमाया सेलिङले ६० वर्षीया बिष्णुमाया रसाइलीलाई कुटपिट गरी गहना लुटेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सेलिङले “कालिज मार्न र सुँगुरको चारो खोज्न जाऔँ” भन्दै रसाइलीलाई साथमा लगेर गएपछि कुटपिट गर्दै कानमा रहेको माडवारी २ थान (करिब १ तोला), नाकको बुलाकी १ थान (आधा तोला) र फुली १ थान (२ आनी) खोसी फरार भएकी हुन्।
घटनामा घाइते रसाइलीको टाउकोमा सामान्य चोट लागेको र थर्पु बजारस्थित मेडिकलमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल फिदिम पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ।
फरार सेलिङको खोजतलास जारी रहेको प्रहरी चौकी गणेशचौकले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।




