बिष्णु अधिकारी
पाँचथर । पाँचथर मिक्लाजुङका १८ वर्षीय सगुन लावती २०८१ माघ १२ गते पाथिभरामा केवलकार निर्माणको पक्ष–विपक्षमा भइरहेको आन्दोलनको बेला गोली चल्दा सगुनको छातीमा गोली लाग्यो र उनी गम्भीर घाइते भए।
सशस्त्र प्रहरीले प्रारम्भिक उपचार खर्च एक हप्ता सम्म तिरे पनि त्यसपछि उपचारको सबै जिम्मेवारी परिवारमाथि आयो। निम्नवर्गीय किसान परिवारका सगुनलाई काठमाडौंको टिचिङ अस्पतालमा करिब एक महिना उपचार गर्नुपर्यो, जसको खर्च करिब ४ लाख ५० हजार रुपैयाँ पुग्यो। परिवारले सुरुमा ५० हजार रुपैयाँ जुटायो भने बाँकी रकम देश–विदेशका सहयोगी र शुभचिन्तकबाट संकलित चन्दा मार्फत जुटाउनुपर्यो।
हाल एसइइ पास गरेका सगुनको जीवन अब विद्यालयको पाठ्यक्रमभन्दा बढी अस्पतालका फल्लोअप र उपचार खर्चमा केन्द्रित भएको छ। तीन महिनामा एकपटक अस्पताल पुग्नुपर्ने बाध्यता छ, जहाँ एकपटकको उपचार, डाक्टरको शुल्क, यात्रा, बसोबास र खानपिनमा करिब २० हजार रुपैयाँ खर्च हुन्छ।
केन्जोखबर सँग कुरा गर्दै लावतीले भने “आन्दोलनका नेतृत्वले मात्र हौसला दिए, तर आवश्यक आर्थिक सहयोग पाएनौं। देखावटी सम्मानले चल्दैन यो जीवन,” सगुनले पीडा पोख्दै भने। स्थानीय सरकारबाट पनि कुनै सहयोग नपाएको उनको गुनासो छ।
हालसम्म उपचारमा खर्चिएको ४ लाख ५० हजार रुपैयाँ सकिएको छ र अब उपचार जारी राख्न फेरि चन्दा संकलनमा निर्भर हुनुपरेको छ। सगुन परिवारका एक मात्र छोरा हुन् र उनीसँग तीन दिदीहरू छन्।
माघ १२ गतेको घटनामा धेरै आन्दोलनकारी घाइते भए, तर गम्भीर घाइते सगुन आर्थिक अभावले थप उपचारका लागि संघर्ष गरिरहेका छन्।