बुटवल । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। ५ महिला र ३ पुरूष गरि ८ जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी ज्यान गुमाउनेमा बसन्ती खड्का (३९), केशरी खड्का (२९), बलबहादुर बुढा मगर (५०), खिम खत्री (३२), नन्दि खड्का (५०), बसन्त खड्का, (३९) र एलिना खड्का (१३) रहेको गौमुखी गाउँपालिका प्रमुख विष्णुकुमार गिरीले जनाए। थप एक जना मृतकको सनाखत हुन सकेको छैन।
जीपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा रिमा जिसि, नरेश खड्का, दलबहादुर खड्का, हरि बुढामगर र सावित्रा जिसी रहेका छन्। बेहुला बेहुली दुबैजना घाइते भएका छन्।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप गएराती १ बजे ओखरपाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले बताए।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ।
जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।