काठमाडौं । पछिल्लो समय सिरहा, सप्तरीलगायत मधेशका जिल्लाहरूमा सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनका नाममा तनाव बढाइरहेको छ। सिरहामा केही समयदेखि उनीहरूले राजमार्ग बन्द गरेर सवारी साधन जलाइरहेका छन्।
सिके राउतका कार्यकर्ताले शान्ति सुरक्षामा चुनौती दिइरहेका बेला आइतबार सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेको सरूवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टर तानेर सिरहामा अर्जुन तिम्सिनालाई खटाउने निर्णय गर्यो।
प्रहरी उपरीक्षक पाण्डे सात महिनाअघि मात्रै सिरहा गएका थिए। प्रहरीमा साधारणतया कार्यक्षेत्रमा खटेको एक वर्षपछि मात्रै सरूवा हुन्छ।
जिल्लाको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बनेका बेला भएको एसपी पाण्डेको सरूवाले अहिले चर्चा पाइरहेको छ। र उनको सरूवासँग जोडिएका छन् नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव।एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले कुनै ‘चार्ज’ लगाएको छैन। ‘शान्ति सुरक्षा’ तथा ‘विभागीय आवश्यकता’को सरूवा हो भनेको छ।‘उहाँको सरूवा विभागीय आवश्यकताअनुसार भएको हो,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने।
सरूवा भएको दिन पाण्डेले राति सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवको घरमा गएर गोली हान्ने धम्की दिएको आरोप लागेको छ। त्यो आरोप कति सत्य हो होइन भन्ने यकिन छैन।प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका एसपीले पाण्डेलाई राति घरबाट लगेको यादवले दाबी गरेका छन्। यो विषयमा पनि छानबिन भइरहेको कुँवरले बताए।
पाण्डेको सरूवा शान्ति सुरक्षासँग मात्र जोडिएको भने छैन। पाण्डे र यादवबीच लामो समयदेखि ‘टकराव’ चलिरहेको थियो र यादवले पाण्डेलाई सरूवाको धम्की पनि दिएका थिए। यही सिलसिलामा पाण्डेको सरूवा भएको छ।
‘केही दिनअघि कार्यालयमै आएर उहाँले मेरो सरूवा गरिदिन्छु भन्नुभएको थियो, सरूवा भएपछि आइतबार मैले फोन गरेर सरूवा भएछ धन्यवाद है सभापतिजी भन्दिएको चाहिँ हो,’ एसपी पाण्डेले सेतोपाटीसँग भने, ‘मैले उहाँको घर पनि देखेको छैन, उहाँको घरमा गएको पुष्टि भयो भने मलाई बर्खास्त होइन, फाँसीमा झुण्ड्याइदिए हुन्छ।’
पाण्डेका अनुसार सभापति यादवसँग दुई वटा विषयमा लामो समयदेखि ‘मनमुटाव’ भइरहेको थियो।
पहिलो, विष्णुपुर गाउँपालिकामा भएको हत्या प्रकरण। दोस्रो, उनको सुरक्षामा खटिएका प्रहरी फिर्ता।
गत कात्तिक ११ गते विष्णुपुर-५ का किशन धामीको गोली हानी हत्या भएको थियो। हत्या आरोपमा पाण्डेले कांग्रेसका दुई जना कार्यकर्ता सुशील यादव र प्रमोद यादवलाई एक महिनाअघि पक्राउ गरेका थिए।
यादवले सुरूमै उनीहरूलाई छोड्न पाण्डेलाई दबाब दिइरहेका थिए। ‘उनीहरू घटनामा संलग्न भएको यथेष्ट प्रमाण भेटिएपछि मैले पक्राउ गरेर हिरासत राखें, अनुसन्धानले निर्दोष मान्न सकेन। उनीहरूको पोलिग्राफ परीक्षण गर्दा ढाँटेकोसम्म मिसिल संलग्न राखेर सरकारी वकिल कार्यालयमा पठाइयो,’ पाण्डेले भने, ‘अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्यो।’
त्यसपछि यादव आफूसँग चिढिएको पाण्डेको दाबी छ। सुशील र प्रमोद विष्णुपुरका स्थानीय कांग्रेस नेता हुन्।दोस्रो, दिइएका सुरक्षाकर्मी फिर्ता गरेपछि यादवले आफूलाई कार्यालयमै आएर सरूवाको धम्की दिएको पाण्डेले बताए।पाण्डेका अनुसार कांग्रेसको महाधिवेशन अगाडि पाण्डेलाई दुई जना सुरक्षाकर्मी पिएसओको रूपमा खटाइएको थियो।
यादवले मंसिर १० गतेसम्मका लागि सुरक्षाकर्मी मागेका थिए। जिल्ला सुरक्षा समितिले थ्रेट मूल्यांकन गरी यादवलाई दुई जना पिएसओ खटाएका थिए।तर, यादवले सुरक्षाकर्मी मंसिर १० पछि फर्काएनन्। उनले कांग्रेस महाधिवेशनमै लिएर गए।‘मंसिरभरि फिर्ता गर्नुभएन, जिल्ला सुरक्षा समितिले थप निर्णय पनि गरेन,’ पाण्डेले भने, ‘मैले ती सुरक्षाकर्मी तानिदिएँ।’यादवले छोड्न भनेका व्यक्ति जेल गएपछि र सुरक्षाकर्मी फिर्ता गरेपछि १० दिनअघि कार्यालयमै आएर सरूवाको धम्की दिएको पाण्डेले बताए।‘मेरो सरूवा भयो, जहाँ सरूवा भए पनि मलाई कुनै गुनासो छैन,’ पाण्डेले भने, ‘उहाँले सरूवा गरिदिन्छु भनेका थिए, सरूवा भएपछि मैले फोन गरेर धन्यवाद दिएको हो।’
यादवले जिल्लामा यतिबिघ्न दबाब दिने गरेको भन्ने सम्झिन पनि नसकिने पाण्डेले बताए। ‘उहाँ सिरहामा सुरक्षाकर्मी आफैं चलाउन खोज्नुहुन्छ, फलानोको सरूवा गर्दिनु भनेर त कति दबाब दिने दिने भनिसाध्य छैन,’ पाण्डेले भने।कांग्रेस जिल्ला सभापति यादव भने पाण्डेको भनाइ स्वीकार गर्दैनन्। पक्राउ परेका दुई जनाको हकमा कानुनअनुसार कारबाही गर्नुचाहिँ भनेको यादवले बताए। उनले सोमबार एउटा विज्ञप्ति पनि जारी गरेका छन्।
‘नेता हो, कार्यकर्ता पक्राउ पर्दा भन्नुपर्छ। मैले कानुनमा मिल्ने कुरा मात्रै गर्नु भनेको थिएँ,’ यादवले भने, ‘उहाँको सरूवा मैले गर्ने होइन, सरकारले गर्ने हो, मैले सरूवा गर्न कतै भनेको पनि होइन, सरूवा गरिदिन्छु भनेको पनि होइन।’
यादवले सुरक्षाकर्मी लिएको र पाण्डेले फिर्ता लगेकोमा आफूलाई कुनै गुनासो नरहेको बताए।‘मलाई पिएसओ दिएको थियो, त्यो फिर्ता लगेकोमा गुनासो छैन,’ उनले भने, ‘मैले कसैको सरूवा गरिदिनु भनी दबाब दिएको छैन।’ एसपी पाण्डे सरूवा भएको राति आफ्नो घरको गेटअगाडि आएर गोली हान्ने धम्की दिएको दाबी यादवको छ।
‘उहाँ मेरो घरमा आउँदै हुनुहुन्छ भन्ने प्रशासनले अगाडि नै थाहा पाएको रहेछ, पाण्डे आउनुभयो उहाँ कन्ट्रोलमा हुनुहुन्न थियो,’ यादवले भने, ‘सिडिओ र सशस्त्र प्रहरीको एसपी आएर उहाँलाई लिएर जानुभयो।’
यस विषयमा कुरा गर्दा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले यो विषयमा अहिले आफू केही पनि नबोल्ने बताए।
‘हामीले आफ्नो रिपोर्ट गृह मन्त्रालयमा पठाइसकेका छौं। यो विषयमा अहिले म केही बोल्दिनँ,’ प्रजिअ कवारीले भने। गृहप्रवक्ता प्रदीपकुमार कोइरालाले त्यसदिन पाण्डे यादवको घरमा गए/गएनन् थाहा नभएको भन्दै उनी ‘गस्ती’मा निस्केको बुझिएको बताए।
‘यो विषयमा छानबिन भइरहेको छ, त्यहीँ जिल्ला प्रशासनले छानबिन गरिरहेको छ,’ कोइरालाले भने।
सेताेपाटीबाट
याे पनि पढ्नु हाेस
गोली हानेर मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर मध्यराति कांग्रेस सिराहा सभापतिको घरमा पुगेपछि..