ईलाम ।इलामको देउमाई नगरपालिका–३ मा रहको पानीटार चियाबारी जिल्लाकै उत्कृष्ट गन्तव्य बन्न सक्छ । तर प्रचारप्रसारको अभावमा यो चियाबारीमा कमैमात्र पर्यटक पुग्ने गरेका छन् ।
थुम्का–थुम्कामा मौलाएको यस चियाबारीबाट जिल्लाका विभिन्न क्षेत्र तथा बाहिरी जिल्लाहरुको समेत अवलोकलन गर्न सकिने स्थानीय बताउँछन् । चियाको पर्याय इलाम हो । धेरैले इलाम भन्नेबित्तिकै चिया र चिया भन्नेबित्तिकै इलाम सम्झन्छन् । जिल्लाकै धेरै भूभागमा चिया नै फैलिएको छ भने धेरै जिल्लावासी पनि चियाकै कर्म गर्ने गर्दछन् ।
धेरै जिल्लावासीको जिउने प्रमुख आधार पनि चिया नै हो । जिल्लामा धेरै चियाबारीहरु छन् । हरियाली अनि रमणिय चियाबारीमध्ये धेरैले यस चियाबारीलाई रोज्न थालेका छन् । जिल्लाको कन्याम चियाबारी, इलाम चियाबारी लगायतका चियाबारी हेर्न बाहिरी जिल्लाहरुबाट धेरै पर्यटक आउने गरेका छन् । एकान्त ठाउँमा भएर पनि कम पर्यटक पुग्ने पानीटार चियाबारी अन्य चियाबारी भन्दा कम नभएको त्यहाँ पुग्ने जो कोहि बताउँछन् ।
जिल्ला सदरमुकामबाट २५ किलोमिटर पश्चिममा रहेको पानीटार चियाबगान साढे चार सय रोपनीमा फैलिएको देउमाई नगरपालिका वडा नम्वर तीनका वडाध्यक्ष दावा तामाङले बताए । पानीटारको बारेमा धेरैलाई जानकारी नभएकाले पनि कम पर्यटकहरु आउने गरेको उनको भनाइ छ ।
नगरपालिकाले पानीटारमा जाने बाटो, बिजुली, खानेपानी लैजानका लागि पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ । पर्यटन पूर्वाधार विकासमा बजेट विनियोजन गरेर धार्मिक तथा पर्यटकीय विकासमा लागिपर्ने उनी बताउँछन्् । चियाबारीको रमणीयतासँगै दृश्यावलोकन, मन्दिर र खेलमैदानले पनि धेरैको रोजाइमा पानीटार पर्न थालेको छ । यो चियाबारी क्षेत्रफलका हिसाबले पनि ठूलो छ ।
पानीटारमा सिजनमा वनभोज खान जाने धेरै हुन्छन् । पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउँदै पूर्वाधार विकासमा पनि स्थानीयले मेहनत गर्न थालेका छन् । देउमाई नगरपाालिकाको मंगलबारे बजारबाट ३ किलोमिटर टाढाको पानीटार आसपास होमस्टे व्यवस्थापनको पनि सुरुवात भएको छ । पानीटार सहित त्यस क्षेत्रका धार्मिक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दै मंगलबारेमा व्यवस्थित होटलसमेत खुल्न थालेका छन् । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्वपूर्ण छ । जिल्लामा पर्यटन विकासको लहर चलेसँगै यहाँका बासिन्दा पनि पर्यटक तान्न कस्सिएका हुन् । नजिकै तामाङबस्ती रहेकाले त्यहाँ पुग्ने अनि बास बस्नेहरुले तामाङ जातिको संस्कृति अवलोकन गर्न पाउँछन् ।
दक्षिणतर्फ रहेका सिद्धिथुम्का डाँडा, अजम्बरे डाँडा, जितपुरको झ्याउपोखरी, खान्द्रुङ गुफा लगायतका पर्यटकीय क्षेत्र पनि प्रसिद्ध छन् । यस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन् । पानीटार क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थालाई थप गर्नुपर्ने देखिएको छ । चियाबारीभित्र ठाउँठाउँमा बस्ने र रमाइलोका लागि गोलघरहरू निर्माण गरिएका छन् । चियाबारी वरिपरी घुम्नको लागि र पर्यटकलाई सहज होस् भनेर साइक्लिङको अवधारणा समेत नगरपालिकाले बनाएको छ । सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालो झरेपछि पानीटार पुग्न सकिन्छ ।
झापाबाट सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारे पुग्ने सडकले पनि पानीटारको चार्म बढ्दै गएको छ । सडकको स्तरोन्नति भएपछि तराईबाट अझ बढी पर्यटक आउने र यस क्षेत्र पर्यटकीय गन्तव्य बन्ने आशामा स्थानीय छन् ।