झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौँ मूल्य पर्ने जग्गा हडपेको गरेको आरोप लागेको छ । झापा अर्जुनधारा नगरपालिका –५ पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो । अहिले त्यस जग्गाको चलनचल्ती मूल्य प्रति कठ्ठा ५५ लाख रुपैयाँ छ ।
‘भ्रष्टाचार गर्नु आमाको रगत चुस्नुसरह भएको’ अभिव्यक्ति दिँदै हिँड्ने लिङ्देनले आफ्नै जिल्ला झापाको एक निम्न वर्गीय परिवाको जग्गा कब्जा गरेर विचल्ली बनाएको पीडित परिवारले गुनासो गरेको छ । वि.स २०२८ सालदेखि आफ्नो परिवारले जोतभोग गर्दै आएको र आफ्नै नाममा दर्ता कायम रहेको जग्गा जालसाजी गरी भूपू प्रधानपञ्च गोविन्द बस्नेतसँग मिलेर अर्काको नाममा दर्ता गराई जग्गा हडपेको पीडित परिवारका ४८ वर्षिय डिल्लीराम कट्टेलले बताए ।
स्नेतले आफू प्रधानपञ्च रहेको समयमा कट्टेल परिवारले भोकाधिकार गरेको जग्गा अर्को गाउँपालिकाबाट दर्ता गराएको र त्यही कीर्ते कागजका आधारमा लिङ्देनलाई बिक्री गरेको कट्टेलले बताए । लिङ्देनले जग्गा लिन लागेको सूचना पाएसँगै कट्टेल परिवारले जानकारी गराउँदा उनले समस्या समधान गर्ने आश्वासन दिएका थिए । तर, त्यसको एक महिना नबित्दै लिङ्देन स्वयम्ले जग्गा किनेको डिल्लीराम बताउँछन् ।
कसरी आइपुग्यो लिङ्देनको नाममा जग्गा
कट्टेल परिवारले ०२८ सालदेखि भोगचलन गरेको जग्गा साविक चारपाने गाविसबाट २०४६ साल असारमा मोरङ मधुमल्लाका टिकानाथ खड्काको नाममा नक्सा निकालेको देखिन्छ । खड्काको नामबाट वि.स २०५१ सालमा तत्कालिन प्रधानपञ्च गोविन्द बस्नेतकी श्रीमति विष्णुकुमारी बस्नेतको नाममा जग्गा आएको देखिन्छ । उक्त समयसम्म कट्टेल परिवारले यो विषयमा कुनै मेसो पाएन ।

सुकुमबासी समस्या समाधान आयोगले २०६७ सालमा साविक अर्जुनधारा गाविसबाट डिल्लीरामका बुबा गजाधर कट्टेलको नाममा कित्ता नम्बर ३३५३ नम्बरको १ बिघा ३ कठ्ठा जग्गाको धनीपुर्जा उपलब्ध गराएको छ । “सुकुमबासी समस्या समाधान आयोगले हामीलाई धनीपुर्जा उपलब्ध गराएपछि बस्नेत परिवार यो जग्गा आफ्नो दाबी गर्दै हामीसँग आयो” कट्टेलले भने, “बस्नेत प्रधानपञ्च भएकै समयमा टिकानाथ खड्का नामको व्यक्ति खडा गरी जग्गा उसको नाममा ल्याएका रहेछन् ।”
उक्त १ बिघा ३ कठ्ठा जग्गा मध्येबाट १५ कठ्ठा जग्गा २०६९ सालमा लिङ्देनको नाममा गएको छ । जग्गा खड्काको नामबाट बस्नेतको नाममा हुँदै लिङ्देनको नामसम्म आइपुग्न उनको संलग्नता रहेको कट्टेल परिवारको आरोप छ । कट्टेल परिवारको १५ कठ्ठा र अन्य जग्गा गरी लिङ्देनले सो क्षेत्रमा १ बिघा १० कठ्ठा १४ धुर जग्गा किनेका छन् ।
नेता लिङ्देनले आफ्नै संलग्नतामा जग्गा नापजाँच गरी आफूहरुलाई सो स्थानबाट लखटेको कट्टेल परिवारको दाबी छ । नेता लिङ्देनले जग्गा किन्नु अघि नै आफूले सबै कुराको जानकारी गराई न्याय माग्दासमेत सुनुवाई गर्नुको साटो जीविकोपार्जन गर्दै आएको जग्गा हडपेको कट्टेलले बताएका छन् ।

लिङदेनको नाममा जग्गा गएपछि कट्टेल परिवारले झापा जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । “झापा अदालातमा अहिले मुद्दा विचाराधीन छ, लामो समयदेखि फैसला भएको छैन” कट्टेल भन्छन् , “जग्गा दुई वटा नक्सामा देखिन्छ, हामीले भोगचलन गरेको जग्गा लिङ्देन मेरो जग्गा हो भन्ने दाबी गर्दै आएका छन् ।” अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा लिङ्देनले सो जग्गामा घर लगायतका संरचना बनाइसकेका छन् । मुद्दा फैसलामा ढिलाई हुँदा आफूलाई थप अन्याय भएको कट्टेलले बताए ।
आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गर्न त के भोगचलन गर्नबाटसमेत बञ्चित हुनु परेको पीडित परिवारकी ज्येष्ठ सदस्य (डिल्लीरामकी आमा) ८० वर्षीया खिनमाया कट्टेलले बताइन् । आफ्नो परिवारसँग सो जग्गाको धनीपुर्जा र अन्य कागजात रहेको, जोतभोग पनि गर्दै आएको समयमा नेता लिङ्देनले जग्गा कब्जा गरेर आफ्नो परिवारको उठिबास लगाएको उनी सुनाउँछिन् ।
सुरुमा जग्गा विवाद सल्टाउने आश्वासन दिएका लिङ्देनले पछि आफूहरुलाई लखटेको खिनमायाले सुनाइन् । “हामीले धान खेती लगाएका थियौँ लिङ्देनले जग्गा आफ्नो नाममा सारेर आफू समर्थित मानिसहरु ल्याएर बलप्रयोग गरी मेरो श्रीमान्लाई खेतबाटै लखटे” खिनमाया भन्छिन् । उनका श्रीमान् गजाधार कट्टेलको निधन भइसकेको छ ।
तर, लिङ्देन निकट स्रोतले भने सबै कुरा नक्कलि रहेको दाबी गरेको छ । “अदालतमा मुद्दा विचारधीन छ । उहाँले नम्बरी जग्गा किन्नु भएको हो” स्रोतले भन्यो “उहाँले जग्गा किनेपछि कट्टेल परिवारले जग्गामा दाबी गर्दै आएको हो । अहिले जग्गा रोक्का गरिएको छ ।” यो समाचार आजको कारोबार दैनिकमा छ ।