काठमाण्डाैं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा नेता कृष्णप्रसाद सिटौला कहाँ आशीर्वाद लिन पुगेका छन्।
शनिबार चण्डोल पुगेका शर्मालाई सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न पनि सुझाएका छन्। ‘हिजो जे–जे भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नु भन्नुभयो,’ नवनिर्वाचित शर्मानिकट एक नेताले भने, ‘महामन्त्री मात्रै होइन, त्योभन्दा माथिको जिम्मेवारीमा पुग्नु। देशकै नेतृत्व गर्ने ढंगले अघि बढ्नु मेरो शुभकामना छ।’
चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले भेट गरेको तस्बिर आइतबार मात्रै सार्वजनिक भएको छ। महामन्त्री शर्माले आफू र नेता सिटौलाबीच शनिबार भेट भएको पुष्टि गरेका छन्।
उनले शनिबार सिटौलासँगै प्रधानमन्त्री एवम् नवनिर्वाचित सभापति शेरबहादुर देउवा, नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का र नेता रामचन्द्र पौडेलसँग पनि भेट गरेको जानकारी दिए।
महामन्त्री शर्माले आफूले महामन्त्रीमा निर्वाचित भएपछि आशीर्वाद लिन अग्रज नेताहरुसँग भेटघाट गरेको पनि बताए। उनले महामन्त्रीमा निर्वाचित भएकै दिन नेता प्रकाशमान सिंहसँग चाक्सीबारीमा भेट गरेका थिए।यसअघि चौधौं महाधिवेशनमा सिटौलाले शर्मालाई असहयोग गरेको कुरा आएको थियो।
सिटौलाले सभापति शेरबहादुर देउवासँग तालमेल गरेर प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेपछि शर्माले प्रकाशमान सिंहसँग मिलेर उम्मेदवारी दिएका थि।शर्माले गत भदौमा सुन्दरीजल पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए। तर त्यसबेला उनको टिम तय भएको थिएन।
सभापति देउवाले नै कांग्रेस प्रवक्ता नियुक्त गरेका शर्मालाई उनको टिममा राखेनन्। त्यहीकारण उनी सिंहसँग मिलेका थिए। सिटौला र शर्माबीचको राजनीतिक सम्बन्ध झापाबाटै राम्रो थिएन। झापामा पनि सिटौलाले जिल्ला सभापतिको चुनावमा उद्धव थापालाई जिताएर शर्मालाई हराएको आरोप छ।