काठमाडौं ।कांग्रेस सभापति चयनका लागि पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवाले तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहको साथ खोजेका छन्।
कुनै बेला आफ्नै समूहमा रहेका देउवाले फेरि एकपटक सिंहसँग सहयोगको हात पसारेका छन्। सोही क्रममा आफू निकटका बालकृष्ण खाँडलाई प्रकाशमान सिंहसँग भेट गर्न चाक्सीबारी पठाएका छन्।
सभापतिका लागि पहिलो चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर कोइरालाबीच चुनाव हुने भएपछि देउवाले सिंहको साथ खोजेका हुन्। खाँड देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन्। सिंहले ३७१ पाएका छन्। सभापतिका लागि देउवालाई ८३ मत चाहिन्छ।
देउवाले सिंहको साथ खोजे पनि सिंहले उनलाई सजिलै पत्याउने अवस्था छैन। विगतमा सिंह र निधिबीच मिलेर जाने वा एक्लाएक्लै लड्ने भन्ने विषयमा पटक-पटक लन्च मिटिङ हुँदै आएको थियो। त्यसमा कोइराला परिवारका तर्फबाट महामन्त्री शशांक कोइरालाले साथ दिँदै आएका थिए। यद्यपि अहिले शशांक कतै खुलेका छैनन्। कांग्रेसका एक नेता भन्छन्, ‘शेखर र प्रकाशमानबीच पनि कार्यगत एकता हुन सक्छ। नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आउने उचित समय यही हो।’
विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह एउटै खेमामा थिए। तर, पछि कांग्रेस प्रजातान्त्रिक छाडेर सिंह कांग्रेसमै फर्के र कोइराला गुटमा सामेल भए। सिंह पछि पौडेल समूहमा लागे। केही समयअघिसम्म चाक्सीबारीमा पौडेल समूहको भेला भइरहन्थ्यो। तर, सिंहले १४औं महाधिवेशनमा पौडेल समूहको साथ बिना सभापतिमा उम्मेदवारी दिएका हुन्। सभापतिमा उठ्नुअघि नेता सिंह र सभापति देउवाबीच सम्बन्ध सुधार हुँदै गएको थियो। सिंहको बालुवाटार आउजाउ बाक्लिएको थियो।