पाँचथर । मिक्लाजुङ -७ मा रहेको लेखगाँउमा पहिरोको कारण सडक अवरुद्ध हुदाँ खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाब भए पछि लेखगाउँका पहिराे पिडित सहित स्थानियहरु बिचल्ली भएका छन् ।
कार्तिक पहिलो साता गएको पहिरोले लेखगाउँ पुग्ने सम्पूर्ण सडक अवरुद्ध हुँदा लेखगाउँमा खाद्यान्न अभाव भएको हो । रबि राँके सडकको रबि लेखगाउँ खण्ड र लेखगाउँ भेडेटार खण्ड अवरुद्ध छ । झापाको दमक देखि मिक्लाजुङको कन्याटार सम्म सवारी पुगे पनि त्यहाँबाट खाद्यान्न ढुवानी गर्न अप्ठायारो रहेको स्थानिय बिराज राईले बताए ।
मिक्लाजुङ ७ लेखगाउँमा करीब १२५ घरघुरी रहेकाे स्थानिय सञ्जय राईले बताए । मिक्लाजुङ ७ लेखगाउँको खोलाखर्कमा पहिराले ६ घर बगाएको थियो । २ जनाको मुत्यु समेत भएको थियो । लेखगाउँमा पहिरो बग्न थालेपछि जोगिन भाग्दा शरिरमा एकसरोमात्र लुगा लगाएका पीडितहरु स्थानीय आफन्तकामा बसेका छन् । आफन्तको शरणमा रहेका पिडीतहरु खाद्यान्न अभाव भए पछि समस्यामा परेका हुन् । सबै नेपालीहरुले दिपावली मनाइरहदाँ लेखगाउँका पहिरो पिडितहरु भने भोकमरीको चपेटामा परेका छन् ।
लेखगाउँ थुम्कीलो पहाडले घेरीएको लेखगाँउ अत्यान्त सुन्दरठाँउ थियो । सुन्दर लेखगाँउ पहिरोले विरक्त लाग्ने बनाएको छ । पीडितहरु पहिरोले सबथोक बगाएपछि अब के गर्ने भन्ने अन्योलमा रहेका छन् ।
खाद्यान्न अभाव हुन नदिन वडा संग समन्वय भइरहेको र लेखगाउँमा जसरी पनि खाद्यान्न आपुर्ती गर्न गाउँपालिका लागीरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताए ।