पाँचथर । कतारमा तयारी गरेर ओमानविरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्दै शुक्रबार साफ च्याम्पियनसिप २०२१ सुरु गर्दै छ ।
पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको तयारीमा दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यस आधारमा कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका टिम राम्रो तयारीसाथ माले पुगेको भन्न मिल्छ । अल्मुताइरीको मुख्य लक्ष्य पनि साफको उपाधि नै हो, जहाँ नेपाली टिम हालसम्म सेमिफाइनलभन्दा माथि उक्लिएको छ ।डिफेन्डिङ च्याम्पियन पनि हो माल्दिभ्स । ढाकामा भएको साफ २०१८ को उपाधि यात्रामा माल्दिभ्सले नेपाललाई सेमिफाइनलमा ३-० ले हराएको थियो । टोलीले फाइनलमा भारतलाई २-१ ले पन्छाउँदै दोस्रोपल्ट साफको ट्रफी कब्जा गरेको थियो । यस प्रतियोगितामा नेपालले हालसम्म माल्दिभ्सलाई हराएको छैन ।
मालेमा बिहीबार आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपाली कप्तान किरण चेम्जोङले भने, ‘माल्दिभ्सलाई घरेलु मैदान र समर्थकको फाइदा छ । हामी सबै समर्थकलाई सम्मान गर्छौं तर ती अवसरले हामीलाई केही गर्ने छैन । हामी यहाँ नतिजा हात पार्न मैदानमा प्रतिस्पर्धा गर्न आएका हौं ।’ नेपाललाई साफको उपाधि उचाल्न सहज भने हुने छैन । साफको इतिहास हेर्दा नेपालको सबैभन्दा उत्कृष्ट नतिजा सेमिफाइनल हो । नेपाल साफको फाइनल समेत पुग्न सकेको छैन । अलमुताइरीको नेतृत्वमा रहेको नेपाली टिम यस पटक भने उच्च मनोबलमा रहेको छ । युवा र अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टिमले फाइनल खेल्ने योजना बनाएको छ । नेपाली टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ समेत उत्कृष्ट नतिजा निकाल्ने बताउँछन् ।
कप्तान किरणले माल्दिभ्समा कुनै पनि टिमसँग नडराउने र उत्कृष्ट नतिजाका लागि मैदानमा लड्ने बताए ।‘पक्कै पनि उनीहरुलाई घरेलु मैदानको फाईदा हुनेछ । घरेलु समर्थक हुनेछ । तर, यसले फरक पार्दैन । हाम्रो उपनाम गोर्खाली हो । हामीले विश्वमा इतिहास बनाएका छौँ । हामी कसैसँग डराउने छैनौँ’, कप्तान किरणले भने, ‘होम र अवेले फरक पार्दैन । हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं । हामी मैदानमा नतिजाका लागि लड्ने छौँ ।’
‘सबै खेल कठिन छ । तर, हामी फाइट गर्ने छौँ । हामीसँग युवा र अनुभवी गरि राम्रो मिश्रित टिम छ । हामी फाइनल पुग्न चाहान्छौ । जसका लागि हरेक खेल जित्नु पर्छ’, उनले थपे । नेपाल र माल्दिभ्सको राति ९ः४५ बजे प्रतिस्पर्धाअघि उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन् ।