काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा जीवित रहेका ९० वर्षीय वृद्धले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्।
९० वर्षीय वृद्ध बौद्धमान कार्कीले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका हुन्।
बौद्धमानलाई उदृत गर्दै घटनास्थल मादी नगरपालिका–१ उमलिङका वडाध्यक्ष खेमनाथ कटुवालले भने, ‘अहिले म घटनास्थलमै छु। घटनाबारेमा सोही परिवारका जीवित सदस्य ९० वर्षीय बौद्धमानसँग बुझ्दा उहाँले कुनै जानकारी नभएको बताउनुभएको छ।’
वडाध्यक्ष कार्कीका अनुसार बौद्धमानले आफू ६ बजे नै खाना खाएर सुतेको र घटनाबारे केही थाहा नभएको बताए। बिहान मात्रै घटनाबारे अरुले भनेपछि जानकारी पाएको उनको भनाइ छ । बौद्धमान राम्रोसँग कान पनि सुन्न सक्दैनन् भने आँखासमेत राम्रोसँग देख्दैनन्।
लखेटी–लेखेटी हत्या गरिएको आशंका
सोमबार बाटो हिँड्ने स्थानीयले बाटोमा शव देखेपछि यस हत्याकाण्डबारे प्रहरीसम्म जानकारी पुगेको थियो। त्यसपछि २ घण्टा टाढा रहेको मादी प्रहरी चौकीबाट प्रहरी हवल्दारको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो। उनीहरुले घटनास्थललाई सुरक्षित गरेका थिए।
अहिले भने खाँदबारीबाट डिएसपी लालध्वज सुवेदीसहितको टोली घटनास्थल पुगेकीसकेको छ। उनका अनुसार एउटा शव बाटोमा भेटिएको छ। एउटा शव घरभत्रि रहेको छ। दुई वटा शव बारीको कान्लामा छन् भने बाँकी २ वटा शव खोल्सामा छन्।
विभिन्न ठाउँमा शवहरु छरिएको पाइएपछि लखेटी–लखेटी हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। ‘शवहरु एकै ठाउँमा छैनन्। छरपस्ट अवस्थामा रहेकाले लखेटी–लखेटी हत्या भएको हुनसक्ने हामीले आशंका गरेका छौं’ डिएसपी सुवेदीले नेपाल भने।