पाँचथर । पाँचथरका चलचित्रकर्मीहरुले निर्माण गरेको चलचित्र “के” ले नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा बेस्ट स्टोरी अवार्ड हात पारेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र “क”े ले बेस्ट स्टोरी अवार्ड जितेको हो ।
लिम्बू भाषाको चलचित्र “के” लिम्बू भाषा,संस्कृतिमा आधारीत चलचित्र हो । सो चलचित्रमा पूर्वी पहाडी जनजाती लिम्बू समुदायको जनजीवनलाई चलचित्रमा उतारीएको छ । के को नेपालीमा च्याब्रुङ भन्ने अर्थ लाग्छ । च्याब्रुङ लिम्बू समुदायले बजाउने एक प्रकारको बाजा हो ।
यसअघि के चलचित्रले नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ मा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्ड २०१९ मा उत्कृष्ट अवार्ड र जोमोगान अवार्ड २०२० थाइल्यान्डमा अफिसियल सेलेक्सन अवार्ड समेत प्राप्त गरिसकेको छ । उक्त चलचित्रको लेखक निर्देशक तथा निर्माता सागर केरुङ हुन ।
नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालककी नायिका तिला मगरले अवार्ड जितेकी छिन् भने नेवारी चलचित्र जा मन गुभाजुले उत्कृष्ट चलचित्र, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ । यसै गरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेसभुसा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट सङ्गीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।
२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ ।