फिदिम । पाँचथरको सदरमुकाम फिदिमबाट नजिकै रहेको र सहजररुमा पुग्न सकिने पाँचथर जिल्लाकै ऐतीहासिक र किरात समुदायको आस्थाको केन्द्र लब्रेकुटि वनभोजस्थल र घुमघामको लागि जिल्लाकै अब्बल गन्तव्य मानिन्छ लब्रेकुटि । मेची राजमार्गमा पर्ने कान्छीदोकान बजारमाबाट नजिक रहेको छ ।
१६ औं राष्ट्रिय बिभुती तथा समाज सुधारक महागुरु फाल्गुनन्दले वि.सं.१९८८ वैशाख २४ गते यहाँ किरात समाज सुधारको लागि तत्कालीन दश लिम्बुवान सत्र थुमका अगुवाहरुको भेला गराई ७ बुँदे सत्य धर्म मुचुल्का घोषणा गरेको इतिहास पाइन्छ । सोहि मुचुल्कालाई किरात समाज सुधारको क्षेत्रमा हालसम्मकै महत्वपूर्ण दस्तावेज मानिन्छ । जसको स्मरणमा प्रत्येक वर्षको वैशाख २४ गते समाज सुधार दिवश र कार्तिक २४ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरीन्छ । नेपालका विभिन्न जिल्लाहरुसंगै भारतको सिक्किम, दार्जिलिङ, आसाम, भुटान र वर्मा सम्मका किरात धर्मावलम्बीहरु लब्रेकुटि आउँछन् ।यो स्थल अन्तराष्ट्रियस्तरमा समेत परिचित छ ।
१६ औं राष्ट्रिय विभूति तथा किरात समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको तपोभूमिको रुपमा परिचित फिदिम नगरपालिका-८ चोकमागुमा पर्ने लब्रेकुटि किरात धर्मावलम्बीहरुको धार्मिक आस्थाको केन्द्र हो । किरात समुदायको प्रमुख तीर्थस्थल फक्ताङलुङ (कुम्भकणर्) पारुम्फुक्कु-मारुम्फुक्कु पुग्न नसक्नेहरुले यहाँ आएर सेवा गरे त्यहाँ पुगेर सेवा गरे सरह हुने जनविश्वास छ ।
समुन्द्र सतहबाट २४ सय फिट उचाइमा रहेको यो डाँडाबाट देखिने मनोरम हिमश्रृङ्खलाको दृष्यले सबैलाइ लोभ्याउने गरेको छ । सगरमाथा र कुम्भकणर् लगायतका हिमाललाई एकै दिशाबाट हेर्न सकिने यो डाँडाबाट पूर्वका विभिन्न जिल्लाहरुको दृष्यावलोकन गर्न सकिन्छ । चैत-वैशाखमा गुराँस फुल्ने भएकोले यहाँ आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । जडिबुटि र जैविक विविधताको लागि पनि महत्वपुर्णस्ठल हो लब्रेकुटि । यहाँ चिराइतो, खापनबेद, पाँचअम्ले, सुगन्धवाल, कुड्की, गुजुरगानो, चिम्फिङ, भुतकेश र लेकाली टिमुर जस्ता जडिबुटि पाइन्छन् । काँडे भ्याकुर, हुचिल, कालिज जस्ता जंगली पंक्षि र मलसाप्रो, दुम्सि, मृग, खरायो जस्ता जंगली जनावर पाइन्छन् । विभिन्न प्रजातिका गुराँस, लौठ सल्ला, सेती सल्ला, ठिङ्ग्रे सल्ला, गोब्रे सल्ला र धुपी सल्ला लगायतका वनस्पतिले ढाकेको छ लब्रेकुटि क्षेत्र ।