काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई नेताबीच मंगलबार भेटवार्ता हुने सम्भावना रहेको बताए।’उहाँहरूबीच आज भेट हुने तयारी छ। समय अझै टुंगो भइसकेको छैन,’ नेम्वाङले भने।
यसअघि ओलीनिकट नेताहरू नेम्वाङ र विष्णु पौडेलले वरिष्ठ नेता नेपालसँग पटक-पटक कुरा गरेका थिए। विवाद समाधान गर्न बनेको कार्यदलमा ओली समूहका तर्फबाट संयोजकसमेत रहेका नेम्वाङले कतिपय कुरा ओली र नेपाल बसेर टुंग्याउन सक्ने भएकाले दुई जना भेट्नु पर्ने बताएका थिए।
यसअघि नेपाल ओलीसँग भेट्न इच्छुक थिएनन्। एमालेमा लामो समयदेखि अध्यक्ष ओली र नेता नेपालबीच विभिन्न विषयमा कुरा मिलेको छैन। पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए।अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताउँदै आएका छन्। आन्तरिक विवाद चुलिएको अवस्थामा उनीहरूबीच भेटवार्ताको तयारी भइरहेको छ।