काठमाडौं ।प्रमुख प्रतिपक्ष दल एमाले मा विवाद कायमै छ । विवाद मिलाउन दाेश्राे तहका नेताहरु लागि परे पनि उपलबल्धि हुन सकिरहेकाे छैन् । लामाे समय बिति सक्दा पनि नेकपाएमालेकाे विवाद मिल्न नसकेकाे हाे ।
नेताहरूका अनुसार अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र माधव नेपालले ओलीविना एकता खोजेकाले एकता प्रक्रिया जटिल बन्दै गएको छ। नेकपा एमालेको एकता कायम राख्न विघटित कार्यदलका सदस्यहरू निरन्तर छलफलमा छन्। विघटित कार्यदलका सदस्यहरूको आग्रहमा शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक सहमति जुटाउन भन्दै आइतबार ३ बजेसम्मका लागि स्थगित भयो।
माधवपक्षीय नेता मेटमणि चौधरी एकता प्रक्रियामा केही प्रगति नभएको बताउँछन्। ओलीको अभिव्यक्तिहरूका कारण एकता प्रक्रिया थप बिग्रिएको उनले बताए।
‘एकता प्रक्रिया हिजाे जहाँ थियो आज पनि त्यहीँ छ, झन् बिग्रिएको छ,’ चौधरीले आयोमेलसँग भने,‘हिजो उहाँले बोलेको सुनिहाल्नुभयो होला। मिल्ने मिल्ने बेलामा एउटा कुरा गर्छन अनि बिर्गाछन्।’
एमाले अध्यक्ष ओलीले शनिबार एक कार्यक्रममा माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोहीहरूलाई एमालेमा कुनै ठाउँ नरहेको बताएका थिए। वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थीको सरकार बनाउन सहयोग गर्ने मतियारका लागि पार्टीमा ठाउँ नरहेको उनले बताएका थिए।
ओली आफैंले एकता नचाहेकोले एमाले एकता कुनै पनि हालतमा नहुने चौधरी बताउँछन्।
ओलीले अध्यक्ष पदबाट राजीनामा नदिएसम्म एमाले एकता सम्भव नरहेको उनको भनाइ छ।
‘ओलीले कि त राजीनामा गरेर एक ठाउँमा पुग्लान् या हामी पुर्याउँछौं। अनिमात्रै एमाले एकता हुन्छ,’ उनले भने,‘नभए अपराध गर्ने माफी चाहिँ नमाग्नुपर्ने, महसुस पनि नगर्नुपर्ने अनि उल्टै ठूलाठुला कुरा गरेर हुन्छ?’
‘प्रधानमन्त्री छोडेर जसरी बालुवाटारबाट बालकोट पुगे ओली, अब एमाले अध्यक्षबाट केन्द्रीय सदस्यमा झर्छन्’, चौधरीले दाबी गरे।
माधव नेपालले समान हैसियत मागेको भन्ने कुरामा कुनै सत्यता नरहेको भन्दै उनले विधि र प्रक्रियाको लडाइँमात्र रहेको जिकिर गरे।
‘माधव नेपालले समान हैसियत खोज्नु भएको कुरामा थोरै पनि सत्यता छैन,’ उनले भने,‘वैधानिक नै नभएको कुरा माग्नुपर्ने केही कारण छैन। हाम्रो विधानमा दुई अध्यक्षको व्यवस्था नै नरहेकोले समान हैसियत खोज्ने कुरा हुँदैन।’
एकताका लागि कि त ओली आफैंले राजीनामा गर्नुपर्ने कि त्यहाँसम्म पुर्याउनुपर्ने चौधरीले बताए।
शनिबार स्थगित भएको एमाले स्थायी कमिटी बैठक आइतबार ३ बजे बस्दैछ। आइतबार बस्ने स्थायी कमिटी बैठकलाई एमाले नेताहरूले निर्णायक बताइरहेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई स्थायी कमिटी बैठकबाट कारबाही गर्न सकिने अनुमान गरिएको छ।
तर, माधवपक्षीय नेता चौधरी खारेज भइसकेको पार्टीको स्थायी कमिटी बैठकले केही कारबाही गर्न नसक्ने दाबी गरेका छन्।
‘कारबाही गर्ने हिम्मत नै छैन। कारबाही गर्न कहाँ सक्छन्?,’ उनी भन्छन्,‘अदालतले त ओलीको पार्टीलाई खारेज गरिसक्या छ नि। खारेज भइसकेको पार्टीले के गर्छ? गरिहाल्यो भने पनि के हुन्छ?’