काठमाण्डाैं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको नाममा राष्ट्रलाई अहित हुने गरी गोप्य सम्झौता भएको हुन सक्ने बताएका छन्। संसदलाई थाहै नदिइ गोप्य सम्झौता भएको हुनसक्ने आशंका गर्दै उनले संसद छलेर गरिएका त्यस्ता गतिविधि मान्य नहुने बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले यसअघि भएका सबै सम्झौता संसदमा सार्वजनिक गरेर मात्रै त्यसलाई कार्यान्वयनमा लैजानुपर्ने अडान राखेका छन्। ‘एमसीसीका सबै कागजात सार्वजनिक गरिएको छैन’, उनले भने, ‘यदि एमसिसी पास गर्ने हो भने पहिले त्यसका सबै सम्झौतका दस्तावेज संसदमा सार्वजनिक हुनुपर्छ।’सम्झौताको प्रत्येक दफा अध्ययन गर्दा गम्भीर प्रश्न उठ्ने ठाउँ रहेको उनले बताए।
‘नेपालले कुनै पनि शक्तिको राजनीतिक र सैन्य गतिविधिमा सहभागी हुन नसक्ने असंलग्न नीति लिएको छ। त्यहीकारण इन्डो प्यासिसिफिक सैन्य रणनीतिसँग जोडिएको एमसिसीलाई स्वीकार गर्न गाह्रो सकिँदैन,’ उनले भने, ‘एमसीसीका कतिपय प्रावधान, नेपालको कानुन र संविधानसँग बाझिन्छन्। नेपाली जनताका सार्वभौम अधिकारमाथि कुठाराघात गर्ने कुरा स्वीकार गर्न सकिँदैन।’