काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको सबै बैठकमा, ‘महाधिवेशन भदौ १६ मै हुन्छ। जसरी पनि हुन्छ। महाधिवेशन गराउन नसकेको कलंक मैले बोक्न चाहेको छैन’ भन्दै आइरहेका छन्।
पछिल्लो दुई दिनदेखि जारी पदाधिकारी बैठकमा पनि देउवाले तल्ला तहहरूको कार्यतालिका परिमार्जन गर्नुपरे पनि केन्द्रीय महाधिवेशनको मिति यताउति नगर्न निर्देशन दिए।
कार्यतालिकाअनुसार काम हुन नसक्दा साउन १२ गतेका लागि तोकिएको वडा अधिवेशन स्थगित भइसकेको छ। नयाँ मिति तोकिएको छैन।
वडादेखि क्षेत्र र जिल्ला हुँदै केन्द्रीय महाधिवेशन गर्न कांग्रेसले क्रियाशील सदस्यता टुंगो लगाउनुपर्ने हुन्छ। क्रियाशील सदस्यता विवाद अझै टुंगिसकेको छैन।
धनुषा, रौतहट, बारा, सर्लाही र सप्तरी जिल्लामा रहेका क्रियाशील विवाद रमेश लेखक नेतृत्वको छानबिन समितिले समाधान गर्न सकेको छैन।
क्रियाशील सदस्यता टुंगो लगाएर तल्ला तहका अधिवेशन सम्पन्न गर्न बाँकी नै रहे पनि सभापति देउवा भने भदौ १६ देखि १९ सम्म महाधिवेशन हुने दाबी गर्दै आइरहेका छन्।
‘भदौ १६ मै महाधिवेशन हुन्छ भनेर सभापतिजीले भनिरहनु भएको छ। तर, त्यसको सम्भावना एकदमै न्यून छ,’ संस्थापनइतरका एक नेताले भने।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम अगाडि बढ्न नसकेपछि कांग्रेस महाधिवेशन प्रभावित हुने सम्भावना बढेको छ।
कांग्रेस नेता शेखर कोइरालाले महाधिवेशन प्रक्रिया अगाडि नबढ्नुलाई शंकाको नजरले हेरेका छन्।
‘पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ। अर्थात, पदाधिकारी र पूर्वपदाधिकारीहरूको निरन्तर बैठक बस्ने तर, महाधिवेशन प्रक्रिया अघि नबढ्ने। यो कस्तो चाला हो? यसको जवाफ कसले दिने?’, कोइरालाको प्रश्न छ।
क्रियाशील सदस्यताको टुंगो लागिसकेपछि महाधिवेशन गर्न निर्वाचन समितिले ५३ दिन समय चाहिने शीर्ष नेताहरूलाई बताइसकेको छ। जबकि, सभापति देउवाले भनिरहेअनुसार भदौ १६ आउन अब मात्रै ३२ दिन बाँकी छ। समय घर्किरहे पनि तयारी नहुँदा भदौमा महाधिवेशन हुने सम्भावना लगभग टर्दै गएको छ।
‘पूर्वनिर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानोसमेत हुनसकेको छैन,’ कोइराला भन्छन्, ‘यसले समयसीमाभित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ।’
क्रियाशील सदस्यता विवाद सुल्झाउनका साथै निर्वाचनका लागि आवश्यक तयारीहरू पूरा गर्न बाँकी नै रहे पनि कार्यतालिका अनुसारै महाधिवेशन हुने रटान कांग्रेस नेताहरूले लगाइरहेका छन्।
अहिलेकै गतिअनुसार हिँड्दै गए भदौ १६ मा महाधिवेशन नहुने लगभग पक्का रहेको नेताहरूले भित्रभित्रै बुझिसकेका छन्। तर, बोल्न सकिरहेका छैनन्।
महाधिवेशन गराउन नसकेको अपजस कांग्रेस नेताहरूले लिन चाहिरहेका छैनन्।
‘भदौ १६ मा महाधिवेशन हुने सम्भावना लगभग छैन। यो कुरा शीर्ष नेताहरूले पनि बुझिसक्नु भएको छ,’ संस्थापननिकट एक नेता भन्छन्, ‘तर, कोही बोल्न सकिरहनु भएको छैन। अपजस आउला भन्ने डर उहाँहरूलाई छ।’
भदौभित्र कांग्रेसले महाधिवेशन गर्न नसके उसको वैधानिकतामाथि प्रश्न उठ्ने छ। विधानअनुसार १ वर्ष र संविधानअनुसार ६ महिना समय थपिसकेको कांग्रेसलाई महाधिवेशन गराउनबाहेक अन्य विकल्प छैन।
कोइरालाले महाधिवेशन गर्न नसके भदौ २३ गते पार्टीको वैधानिकता समाप्त हुनेमा चिन्ता व्यक्त गरेका छ