पाँचथर । बर्खाको उत्कर्षको समय हो तर झरिका थोपाहरु कुनै पनि वर्ष सबैतिर समान भने हुँदैनन् । कहाँकहाँ पर्याप्त पानी पर्यो र कता कता पानी नपरेर धानको विऊ नै सुक्यो भन्ने कुराको फेरिहिस्त हरेक वर्ष फरक फरक हुनेगर्दछ । हरेक वर्षको असारे १५लाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउने चलन छ ।
नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्याकंले बताउदछ तर आकाशे पानी अनि रसिलो माटोका कारणले अन्य भूमि पनि धानखेतको प्रतिकुल नै भने छैनन् । अब राष्ट्रिय धान दिवसमा नेपाली हरुमा कृषीकर्मप्रतिको एउटा अठोटको खाँचो छ।
धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महीना कृषीकार्यकालागि बिशिष्ट छ । असारको १५ लागेपछि बादलहरु पूणर्रुपले परिपक्क भएर पानीका धाराहरु बर्षाउदछन्, माटोहरु पानीमा रुझेर हिलोको स्वरुमा कमलो हुदँछन अनि तिनै कमलो माटोमा हामीले छुपुछुपु धानका बिरुवाहरु रोप्दछौ । यसैकारणले पनि होला असारको १५ लाई राष्ट्रिय धान दिवसकारुपमा मानिन्छ ।
हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु धान रोप्न छिरेका खेतालाहरुको खाजा पनि खेतमै ल्याइदिइने चलन छ । तराईतिर यसरी खेतमा खेतालालाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, समामन्यतया जलखाईमा गहुँको पिठोको मोटो रोटी र नुन तेल खोर्सानी अचार आदी लगिदिने चलन छ । तराईतिर खेतका मालिक आँफैँ धान रोपाँईमा खेत आईपुगे भने सबैजना खेतालाले जग्गाधनीलाई हिलो छ्यापेर भगाउने चलन छ ।
आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । आषाढे महिनामा पानी पर्यो रुझाउने, आषाढे मासमा धान रोपेझैँ खेतमा लगायतका बिभिन्न रोमाञ्चक र जनमानसमा प्रचलीत गीतहरु पुस्तौँदेखी आषाढको सेरोफेरोमा लेखिएका र गाइएका छन् तथापी पहिले पहिले जस्तो रोपाँईका गीतहरु खेतमा लाम लागेर धान रोप्दै सामूहिक रुपमा गीत गाँउदै गरिने धेरै कम मात्र पाईन्छ । यस्ता गीतहरु धान रोप्दै गाइने भएकाले सरल र सुस्तरी गाइन्छ, जस्ले गर्दा काम गर्ने खेतालाहरुले थकान बिर्सेर धेरै बेरसम्म रमाइलो गर्दै काम गर्न सक्दछन् ।
यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो, दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैंसीको दुध आँफैले जोरन हाली जमाएर बनाएको दहि अनि ढिकी या ओखलमा कुटेको धानको चिउरा लाई सरोवरी बोता या दुनाटपरीमा राखी दहिको तरल पदार्थ टपरीवाट नझरोस भन्दै सन्तुलन मिलाएर खाएको दहि चिउराले संसार बिर्साउदछ ।