झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कन्काई पुलसहित विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा बम राखेर सर्वसाधारणमा त्रास फैलाउने मुख्य आरोपी खगेन्द्र खरेल (सञ्जय) लाई प्रहरीले पक्राउ गरेको छ।
झापा र सुनसरीका विभिन्न स्थानमा विस्फोटक पदार्थ राख्ने तथा विस्फोट गराउने कार्यमा संलग्न रहँदै आएका ५५ वर्षीय खरेललाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
गएको पुस १९ गते बिहान कन्काई नगरपालिका–४ स्थित कन्काई पुलको उत्तरी भागमा प्रेसर कुकर बम फेला परेको थियो। उक्त शङ्कास्पद वस्तुलाई नेपाली सेनाको अरिदमन गणले निष्क्रिय पारेको थियो।
घटनास्थलमा ‘सनातन सुरक्षा सेना नेपाल’को पर्चा समेत फेला परेको र अनुसन्धानका क्रममा झापाकै कन्काई–८ निवासी खरेलको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
खरेलको आपराधिक पृष्ठभूमि निकै लामो र जटिल देखिएको छ। उनी यसअघि २०८१ पुसमा इटहरी उपमहानगरपालिका अगाडि बम राखेको अभियोगमा समेत पक्राउ परेका थिए।
त्यस्तै, २०७८ चैतमा इटहरी–२ मा कोठाभित्रै बम विस्फोट हुँदा दुई जना घाइते भएको घटनामा पनि उनको मुख्य नेतृत्व रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार खरेलले पछिल्लो केही वर्षदेखि बिर्तामोड र दमक क्षेत्रमा समेत पटक-पटक बम आतङ्क मच्चाउँदै आएका थिए।
विगतमा पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका खरेल जेलबाट फरार समेत भएको पाइएको छ। दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेका उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएको अभियोगमा २०८१ चैतमा पनि पक्राउ परेका थिए।
उनी यसअघि सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेकै अवस्थामा फरार भएको प्रहरी रेकर्डले देखाउँछ। हाल उनीमाथि थप कानुनी कारबाहीका लागि विस्तृत अनुसन्धान भइरहेको छ।




