दिपक बोहोरा । पाँचथर । देशमा जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले तोकेको प्रतिनिधि सभाको निर्वाचन आउन अब ५७ दिन मात्र बाँकी छ । निर्वाचन नजिकिँदै जाँदा एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा पनि चुनावी गतिविधि तीव्र बन्दै गएको छ । अघिल्लो निर्वाचनको तुलनामा यसपटक नयाँ दलहरू समेत सक्रिय देखिएका छन् ।
२०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पाँचथर जिल्लामा कुल १ लाख ४० हजार ४ सय ९ मतदाता दर्ता भएका थिए । त्यसमध्ये ६६ हजार ८१ महिला र ७४ हजार ३ सय २८ पुरुष मतदाता थिए । जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार हाल मतदाता संख्या बढेर १ लाख ४३ हजार ४ सय ८ पुगेको छ । पछिल्ला दुई वर्षमा २ हजार ९ सय ९९ जना नयाँ मतदाता थपिएका छन् ।

२०७९ को निर्वाचनमा पाँचथरमा विभिन्न राजनीतिक दलका र स्वतन्त्र गरी कुल १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । उम्मेदवारले पाएको मत संख्या ३२ हजारदेखि १७ मतसम्म फैलिएको थियो । नेकपा (एमाले) का बसन्तकुमार नेम्बाङले ३२ हजार १ सय ३५ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भिष्मराज आङदेम्बेले ३२ हजार ८९ मत पाएका थिए ।
त्यसैगरी राप्रपाका कमल चेम्जोङले १ हजार ५ सय ७८, जनता समाजवादी पार्टी नेपालका प्रेमराज लावतीले १ हजार २ सय ७४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले १ हजार ११, नेकपा (माले) का दिननाथ घिमिरेले ८ सय १६ मत प्राप्त गरेका थिए ।राष्ट्रिय स्वतन्त्र पार्टीका दलप्रसाद लिङदेनले ५ सय २६, मंगोल नेशनल अर्गनाइजेशनका रामकुमार तुम्रोकले ५ सय २२, राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङले ३ सय २, राप्रपा नेपालका मदनकुमार पोखरेलले २ सय ५३ मत प्राप्त गरेका थिए ।

स्वतन्त्र उम्मेदवार दलबहादुर आङदेम्बेले १ सय ८, लाखबहादुर पालुङवाले ८६, विष्टन लावतीले ३५ मत पाएका थिए भने विकास काफ्लेले जम्मा १७ मत ल्याएका थिए ।यसपटक पाँचथरमा नयाँ राजनीतिक दलहरूको पनि चुनावी गतिविधि सुरु भइसकेको छ । परिवर्तन पार्टी र श्रम संस्कृति पार्टीले समेत चुनावी मैदानमा भाग लिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी पनि अघिल्लो चुनावको तुलनामा निकै संगठित देखिएको छ ।
अघिल्लो निर्वाचनमा काँग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) हाल एउटै पार्टी बनेपछि पाँचथरको चुनावी समीकरण थप रोचक बनेको छ । अघिल्लो पटक विजयी भएका बसन्तकुमार नेम्बाङ बिरामी भएर निर्वाचनमा उठ्न नसक्ने भएका छन् भने उपबिजेता काँग्रेसका भिष्मराज आङदेम्बे समानुपातिक तर्फ गएपछि जिल्लामा अझ रोचक राजनीतिक गणित बनेको छ ।
निर्वाचन नजिकिँदै जाँदा पाँचथरमा मतदाता र दलहरूको रणनीति चलिरहेको छ । पुरानो प्रतिस्पर्धा र नयाँ दलको प्रवेशले यसपटकको प्रतिनिधि सभा चुनावलाई अझ तातो र अप्रत्याशित बनाएको छ ।





