पाँचथर । दोस्रो लब्रेकुटी–सिलौती फाल्गुनन्द हाफ म्याराथनमा इलामको सन्दकपुर गाउँपालिका–२ का सञ्जय राई विजेता बनेका छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १५ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गरे।
बिजेताले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने ताप्लेजुङका अमिर लिम्बू १ घण्टा १७ मिनेटमा दौड पूरा गर्दै दोस्रो बने। उनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
खुला महिला तर्फको ६ किलोमिटर दौडमा पाँचथरकी पुष्पा शेर्मा पहिलो भइन्। उनले २६ मिनेटमा दुरी पूरा गरिन्। खोटाङकी दीपा बस्नेत ३२ मिनेटमा दौड पूरा गर्दै दोस्रो र दोलखाकी तारा तामाङ ३३ मिनेटमा दौड पूरा गर्दै तेस्रो भइन्।
पुरुष भेट्रानमा धरान–१७ का विजयकुमार राईले ६ किलोमिटर दुरी २६ मिनेटमा पूरा गर्दै पहिलो स्थान हात पारे। दोलखाका नवराज कार्की २९ मिनेटमा दौड पूरा गर्दै दोस्रो र धरानका फिपराज लिम्बू ३१ मिनेटमा दौड पूरा गर्दै तेस्रो बने।महिला भेट्रानमा धरान–१५ की जमुना लिम्बूले ३३ मिनेटमा दौड पूरा गर्दै प्रथम भइन्। मनिता सुन्दास दोस्रो र करुणा राई तेस्रो स्थानमा परिन्।
बालककाे ६ किलोमिटर दौडमा ताप्लेजुङका लाक्पा शेर्पा पहिलो, रविन लिम्बू दोस्रो र पाँचथरका साहिल लिम्बू तेस्रो बने।
बालिका वर्गमा भोजपुरकी जुही राई पहिलो, विनिता राई दोस्रो र धरान–१५ की सेन्चुहाङ राई तेस्रो भइन्।नेपालका १६औं विभूति तथा किराँत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको १४१औं जन्मजयन्तीको अवसरमा हाफ म्याराथन आयोजना गरिएको थियो।
फाल्गुनन्दको कर्मथलो लब्रेकुटीदेखि सुरु भएको दौड कान्छी दोकान, पौवाभञ्ज्याङ, ध्वजे डाँडा हुँदै पुनः लब्रेकुटीमै आएर टुंगिएको थियाे ।




