झापा । झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको दोस्रो सेमिफाइनलमा एपीएफ क्लबले रोमाञ्चक पुनरागमन जित निकालेको छ। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय उपाधि भिडन्त सुनिश्चित गरेको हो।
खेलको सुरुवातदेखि नै दुवै टोली आक्रमणकारी शैलीमा मैदानमा उत्रिएका थिए। २६औं मिनेटमा एपीएफकी सरु लिम्बुले डिबक्स बाहिरबाट गरेको प्रहार पोष्टको छेउबाट बाहिरियो। त्यसपछि २९औं मिनेटमा आर्मीकी तुलसा बोहोराको क्रसमा विमला चौधरीले हेडर प्रयास गरिन्, तर बल माथि गयो।
३९औं मिनेटमा एपीएफकी कप्तान अनिता बस्नेतको कर्नरमा रश्मि घिसिङको प्रहार आर्मीकी डिफेन्डरले क्लियर गरिन्। त्यसको एक मिनेटमै आर्मीले काउण्टर अट्याक बनायो, तर तुलसा बोहोराको वान भर्सेस वान प्रयास सफल भएन।
दोस्रो हाफमा खेल समान्य गतिमा अघि बढ्यो। ५८औं मिनेटमा रश्मि घिसिङले दुई डिफेन्डरलाई छल्दै गरेको प्रयास आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन्। तर ६३औं मिनेटमा आर्मीले अग्रता लिन सफल भयो। डिफेन्डर निशा ठोकर र गोलकिपर अन्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन्।
खेलको अन्तिम समयसम्म एपीएफले लगातार दबाब बनाइरह्यो। ८१औं मिनेटमा अनिताको क्रसमा रश्मि घिसिङको हेडर पोष्ट बाहिरियो। इन्जुरी समयमा एपीएफकी कप्तान अनिता बस्नेतले करिब २५ यार्ड दूरीबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै खेल बराबरीमा ल्याइन्।
निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा एपीएफका सबिता राना, अनिता बस्नेत, निशा ठोकर र रश्मि घिसिङले गोल गरे। आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकि विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपीएफकी गोलकिपर अन्जना राना मगरले रोकिन।
एपीएफकी गोलकिपर अन्जना राना मगरको उत्कृष्ट बचाउ निर्णायक बन्यो। उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो र १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँग उपाधिका लागि भिड्नेछ। दुई विभागीय टोलीबीचको भिडन्त झापा महिला गोल्डकपलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।




