पाँचथर । लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। सडक डिभिजन कार्यालय इलामका अनुसार अहिले ताप्लेजुङदेखि पाँचथरको फिदिमसम्म यातायात सहज भए पनि फिदिमदेखि राँकेसम्मको खण्डमा अहिले एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार राँकेदेखि इलाम सदरमुकाम र माइखोला क्षेत्रसम्म धेरै ठाउँमा सडक भासिएको र पहिरोका कारण सडक अवरुद्ध भएको छ।
‘ सडक मर्मत र खुलाउने काममा क्रियाशील भएका छौं, सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,’ भट्टराईले केन्जोखबरसँग भने, ‘तर अहिलेको अवस्था हेर्दा पूर्णरूपमा सञ्चालनमा आउन चार/पाँच दिनसम्म लाग्ने देखिन्छ।’
उनका अनुसार धेरै ठाउँमा सडकको संरचना क्षतिग्रस्त बनेको, पर्खाल भत्किएको र नाली बगाएको छ, जसले कामलाई थप चुनौतीपूर्ण बनाएको छ।
मेची राजमार्ग अवरुद्ध हुँदा तमोर करिडोर पनि ठप्प बनेको छ। यस्तो अवस्थामा यात्रुहरूलाई वैकल्पिक रूपमा मध्यपहाडी लोकमार्ग प्रयोग गर्न सकिने जनाइएको छ। पाँचथरको जोरसाल हुँदै तेह्रथुमको सग्रान्तीबजार, म्याङलुङ, बसन्तपुर, हिले, धनकुटा हुँदै धरानसम्मको बाटो अहिले सञ्चालनमा रहेको छ।
फिदिमदेखि तेह्रथुमको म्याङलुङसम्मको दुरी करिब १०२ किलोमिटर रहेको छ। त्यस मध्ये करिब ६ किलोमिटर मात्र कच्ची सडक रहेको र बाँकी सबै भाग पक्की भएको मध्यपहाडी लोकमार्ग आयोजनाका सूचना अधिकारी राजनारायण सदरदारले केन्जोखबरलाई जानकारी दिए। उनका अनुसार हाल मध्यपहाडी लोकमार्गमा कतै पनि अवरोध छैन र सवारी आवागमन सामान्य रूपमा भइरहेको छ।
वर्षाका कारण पहिरोले धेरै ठाउँमा साना ठूला सडक क्षतिग्रस्त भएका छन्। सडक विभाग र स्थानीय निकायले संयुक्त रूपमा पहिरो पन्छाउने तथा क्षतिग्रस्त भाग मर्मत गर्ने कार्य तीव्र बनाएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार हाल मेची राजमार्गको फिदिम–राँके खण्डमा जोखिम अझै कायम रहेको र यात्रुहरूलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
सडक विभागका अनुसार मौसममा सुधार आएसँगै कामलाई तीव्र बनाइने र केही दिनमै मेची राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।