दिपक बाेहाेरा । शुक्रबार दिउँसो हामि अमरपुर पुग्दा, कमल भण्डारीकाे घरमा ७ दिनको मृत्यु संस्कार चलीरहेकाे थिए। शोकमा डुबेका ५७ बर्षिय बुबा गणेशप्रसाद भण्डारी आँसु झार्दै कमलको तस्वीर हेर्दै बसेका थिए। “दसैंमा घर सिँगारेर आमा–बुबालाई झिक्छु भनेर भन्थ्यो, तर अब कहिल्यै आइपुग्ने छैन,” उनले भक्कानो आवाजमा भने। उनका बाबुआमा, श्रीमती सीता, पाँच वर्षका छोरा र गर्भमा रहेका ३ महिनाका सन्तानसँग कमलले बनाएका सपना अब केवल सम्झनामा बाँकी छन्।
विदेशी भूमिमा आठ वर्षको कडा श्रमपछि कमलले झापाको बिराटपोखरमा जग्गा किनेर घर बनाउने योजना सुरु गरेका थिए। कतारमा ५ वर्ष र साउदी अरबमा ३ वर्ष बिताएर कमाएको पैसा उनले आफ्नै आमा–बुबालाई बसाल्न, श्रीमती र छोरासँग नयाँ जीवन सुरु गर्न खर्च गर्ने सोच राखेका थिए। घरको पहिलो तला निर्माण भइसकेको थियो, दोस्रो तला र सिँगार्ने काम बाँकी थियो।
तर २४ भदौको साँझ सबै योजना एकैछिनमा टुट्यो। खाना खाएर साथीहरूसँग विर्तामोडतर्फ गएर आन्दोलनमा सहभागी भएका कमलको फोन रातभरि उठेन। श्रीमती सीता र परिवारले बारम्बार फोन गर्दा पनि कुनै प्रतिक्रिया नआएकोले मनमा डर र आशंका छायो। भोलिपल्ट बिहान १० बजे मात्र बीएन्डसी अस्पतालका सुरक्षाकर्मीले फोन उठाउँदै परिवारलाई बताए “तपाईंको बिरामी यहाँ हुनुहुन्छ, आएर लिनुहोस्।”
इलाका प्रहरी कार्यालय विर्तामोड छेउमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको रहेछ। गोली निकाल्न चिकित्सक असमर्थ भए र भेन्टिलेटरमा राखिएको जीवन टिकेन। २५ भदौ बिहान कमलले अन्तिम सास लिए। २८ भदौमा शव अमरपुर ल्याएर दाहसंस्कार गरिएको दिनदेखि भण्डारी परिवारको संसार उजाडिएको छ। बिरामी बुबा गणेशलाई निद्रा लाग्दैन, भोकप्यास छैन। कान नसुन्ने आमा खगमाया मौन छन्। गर्भवती श्रीमती सीता अर्धचेत अवस्थामा छन्। पाँच वर्षका छोरा बाबु खोज्छन्, र गर्भमा रहेका ३ महिनाका सन्तानले बाबुको अनुहार कहिल्यै नदेखी जन्मिनेछ।
काका शान्तिराम भन्छन्,“अब यी बच्चाहरूको भविष्य के होला भन्ने ठूलो चिन्ता छ।”फेरि, परिवारको पीडामा हातेमालो गर्न कोही आएनन्। न वडाध्यक्ष पुगे, न राजनीतिक दलका नेता, न आन्दोलनका अगुवा। “देश परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ शहीद हुनुभयो, तर सम्झन कोही आएनन्,” बहिनी मायाले आँसु झार्दै भनिन्।
कमल भण्डारीको जीवन एउटा प्रतिनिधि कथा हो । जहाँ वैदेशिक पसिनाले घरको जग तोक्छ, तर आफ्नै मुलुकको आन्दोलनको गोलीले त्यो घर कहिल्यै पुरा हुन दिंदैन।
सपनासँगै ढले कमलले आफ्नो परिवारलाई गहिरो शोक र भविष्यप्रति अपूरणीय चिन्ता मात्र छाडे। गर्भमा रहेका ३ महिनाका सन्तानसँग अब बाबुको माया नदेखिने भयो।