बिष्णु अधिकारी (पाँचथर) । धानमा फुल खेल्ने संवेदनशील समयमा परेको अविरल वर्षाले पाँचथरका किसान निराश बनेका छन्। भदौ २७ गतेदेखि लगातार परेको पानीका कारण जिल्लाका धेरै खेतबारी डुबानमा परेका छन् भने धानसहितका अन्नबालीमा ठूलो क्षति भएको छ।
यस वर्ष समयमा वर्षा नपरेकाले धान ढिलो गरी रोपिएको थियो। अहिले बल्ल–बल्ल फुल खेल्ने अवस्थामा पुगेका ती धान बाली वर्षाको पानीले डुबानमा परेपछि किसानको वर्षभरको मेहनत खेर गएको छ।
फिदिम–११ का कृषक कृष्ण अधिकारी भन्छन्, “धान ढिलो रोपिएको थियो, अब फुल लागेको बेला पानीले सबै डुबायो। दशैं आउँदै छ, तर परिवार पाल्ने अन्न जुटाउने चिन्ताले उत्सव मनाउने मुड छैन।” जिल्लाको फिदिम, हिलिहाङ, कुमायाक र मिक्लाजुङ गाउँपालिकामा करिब ३०० हेक्टर धानबाली प्रभावित भएको जिल्ला कृषि ज्ञान केन्द्र, पाँचथरले जनाएको छ। धानसँगै मकै, तरकारी र अन्य मौसमी बालीमा समेत क्षति पुगेको छ।
वर्षाको असरले केवल खेतबारी मात्र नभई जनजीवन पनि अस्तव्यस्त बनेको छ। ग्रामीण सडक हिलाम्य हुँदा आवतजावत ठप्प भएको छ भने बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति कमजोर बनेको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारीले स्थानीय तहसँग समन्वय गर्दै क्षति विवरण संकलन भइरहेको बताए। उनका अनुसार प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ।
गत वर्ष (२०८१) मा पनि बेमौसमी वर्षाले ठूलो क्षति पुर्याएको थियो। यस वर्ष फेरि दशैं अघिल्लो समयमा त्यस्तै विपत्ति दोहोरिनुले किसानहरूको खुसी हराएको छ। जलवायु विज्ञहरूले यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर भन्दै दीर्घकालीन कृषि रणनीति, आधुनिक सिंचाइ प्रणाली र किसानलाई बीमा सुविधामा पहुँच बढाउन आवश्यक रहेको बताएका छन्।