बिष्णु अधिकारी
पाँचथर । मिक्लाजुङ गाउँपालिकाकी स्थानीय महिला उद्यमी जुनु लावतिले २०७८ सालमा ४ लाख रुपैयाँको लगानीबाट सुरु गरेको व्यवसाय अहिले १ करोड रुपैयाँको ‘सनम फलफुल उत्पादन तथा प्रशोधन उद्योग’मा परिणत भएको छ। लगानीको ठूलो वृद्धिसँगै उनी गाउँमै रोजगारी सिर्जना गर्दै स्थानिय कृषि विकासमा नयाँ माइलस्टोन बन्न सफल भएकी छन्।
जुनुले सुरुमा माङ्पाङ लावति कृषि उद्योग मार्फत किवीको नर्सरी सञ्चालन गरिन्। साथै, उनले किवी उत्पादन र बिक्री, चिया बिरुवा उत्पादन र माछापालन पनि समेटेकी थिइन्। प्रारम्भमा कृषिजन्य उत्पादनको सीमित बजारले चुनौती दिएपछि उनले उत्पादनलाई प्रशोधन गर्ने योजना अघि बढाइन। फलस्वरूप, किवी र फलफुललाई नयाँ उत्पादनमा परिणत गर्ने प्रशोधन उद्योग स्थापना गरिन्।
प्रदेश सरकारले उनको उद्योगलाई टनेल, कोल्डच्याम्बर, पिलर र किवीका लागि माच व्यवस्थापन जस्ता उपकरणहरूको लागि १५ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गर्यो। यस सहयोगले उद्योगको दायरा बढ्न मद्दत पुर्यायो।
गत वर्ष मात्र उनीहरूले १५० क्विन्टल किवी उत्पादन गरेकी छन्। माछापालनमा प्रयोग गरिएको पोखरीको पानीबाट सँगै बेमौसमी तरकारी उत्पादन गरेर आम्दानीको अर्को स्रोत समेत सिर्जना भएको छ।
उद्योगले उत्पादन गर्ने मुख्य वस्तुमा किवीको जुस, किवीको जुस, किवी मिक्स अचार, किवी पेस्ट अचार र किवी सोम रस पर्दछन्। यी उत्पादनहरू पाँचथर, ताप्लेजुङ, धरान, इटहरी, दमक, विराटनगर, बिर्तामोड र इलामसम्म पुग्ने गरेका छन्।
उद्योगबाट वार्षिक करिब २५ लाख रुपैयाँको बिक्री वितरण भइरहेको छ। उद्योगमा लावतिको परिवारका चार सदस्य र दैनिक पाँच जना कामदार कार्यरत छन्। यसले गाउँमै रोजगारी सिर्जना गरेको छ र बेरोजगारी घटाउन मद्दत पुगेको छ।
जुनु लावतिले भनिन्, “सक्कली किसान र देशमै केही गर्न चाहनेले अनुदान पाएर काम गर्न सक्ने वातावरण बनेकोमा म धेरै खुसी छु। स्थानीय सरकारले उद्योगी बन्न चाहनेलाई अनुदान र सहुलियत ऋणको व्यवस्था गरेपछि युवाहरूलाई रोजगारी सिर्जना गर्न सकिन्छ र विदेश पलायन घट्छ।”
उनको यो सफलताको कथा केवल व्यक्तिगत उपलब्धि नभएर गाउँकै युवालाई प्रेरणा र सम्भावना देखाउने उदाहरण बनेको छ। उनले देखाएको उद्यमशीलता गाउँको समृद्धि र आत्मनिर्भरता तर्फको एउटा महत्वपूर्ण कदम हो।