पाँचथर । नेपाल निजामती कर्मचारी संगठन पाँचथरले सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस २०८२ को अवसर पारेर आयोजना गरेको एक दिने फुटसल प्रतियोगिताको उपाधि कर्मचारी मिलन केन्द्र पाँचथरले जितेको छ। शनिबार फिदिमस्थित फुटसल कोर्टमा भएको फाइनल खेलमा निजामती कर्मचारी युनियन पाँचथरलाई पराजित गर्दै मिलन केन्द्रले उपाधि हात पारेको हो।
उपाधिसहित विजेता मिलन केन्द्रले खसी पुरस्कार प्राप्त गर्दा उपविजेता निजामती कर्मचारी युनियनले भाले उपहारस्वरूप पाएको हो।
प्रतियोगितामा कर्मचारी मिलन केन्द्र पाँचथर, निजामती कर्मचारी युनियन पाँचथर, नेपाल पत्रकार महासंघ पाँचथर, नेपाल निजामती कर्मचारी संगठन पाँचथर र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको सहभागिता रहेको थियो।
मिलन केन्द्रले पहिलो खेलमा पत्रकार महासंघ पाँचथरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। निजामती कर्मचारी युनियन पाँचथरले भने नेपाल निजामती कर्मचारी संगठन पाँचथर र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीलाई पराजित गर्दै उपाधि प्रतिस्पर्धामा पुगेको थियो।
कर्मचारी मिलन केन्द्र पाँचथरबाट प्रमुख जिल्ला अधिकारी अरुण पोखरेल, पाँचथरका प्रहरी प्रमुख डिएसपी कौशल कुमार बुढाथोकीलगायतले खेलमा सहभागिता जनाएका थिए।
प्रतियोगिताका बारेमा जानकारी दिँदै आयोजक संस्था नेपाल निजामती कर्मचारी संगठन पाँचथरका अध्यक्ष मिलन राईले कर्मचारीबीचको आपसी मित्रता, सहकार्य र सहनशीलता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। “सहिदहरूको स्मृतिमा सधैं सकारात्मक कार्यक्रमहरू गर्दै आएका छौं। यसपटक खेलमार्फत सहिदलाई सम्झनुका साथै कर्मचारीबीच आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउने हाम्रो उद्देश्य हो,” अध्यक्ष राईले भने।